महाशिवरात्री पर्व धुमधामले मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

Best Khabar Team | २०७७ फाल्गुन २६ गते बुधबार


११ मार्च, २०२१
काठमाडौं । महाशिवरात्री पर्व नेपाल तथा हिन्दु धर्माबलम्बीहरुको बसोबास रहेको विश्वका विभिन्न स्थानमा धुमधामका साथ मनाईँदै छ । विशेष गरी हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको विशेष पूजा–आराधना गरी मनाउने गरिन्छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिथान, भक्तपुरको डोलेश्वर महादेव, चन्द्रागिरीको भालेश्वर महादेव, साँगाको महादेवलगायत देशभरको शिव मन्दिरहरुमा आज बिहानैदेखि दर्शनार्थीहरुले पुजा आराधना गरिरहेका छन् । भगवान् पशुपतिनाथको मन्दिर आज बिहान ३ बजेदेखि नै भक्तजनको लागि खुल्ला गरिएको छ । धर्मशास्त्ररुमा उल्लेख भए अनुसारआज बिहानैदेखि नदी, कुण्ड र तलाउमा नहाएर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ ।

शिवरात्रीको महत्व
भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिने गरिएको छ । महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

पशुपतिमा भव्य मेला
विगतका वर्षमा शिवरात्रीका बेला कोरोना भाइरसको संक्रमणका कारण शिवरात्रीमा विशेष मेला लाग्न नसकेको भएपनि यसपटक पशुपतिनाथमा विशेष मेला लागेको छ । आवश्यक सुरक्षा सावधानी अपनाएर पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुलाई दर्शन गर्ने व्यवस्था मिलाएको छ । यसवर्ष पशुपतिनाथ मन्दिरमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ विक्री वितरणमा रोक लगाइएको छ ।

पशुपतिनाथ क्षेत्रको ट्राफिक व्यवस्थापन
यसैबीच भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको पशुपतिनाथ क्षेत्रमा विशेष ट्राफिक व्यवस्थापन गरेको जनाएको छ । सञ्चारकर्मी, अति विशिष्ठ व्यक्ति तथा भक्तजनका सवारी साधनलाई छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको महाशखाको भनाई छ । चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।

चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उनले जानकारी दिए । मालबाहक सवारी साधन तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामङ्गल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी एवम् भक्तजनका सवारी साधनलाई वनकाली खुला चौर, सिफलचौर, गुह्वेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवा प्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने छ । वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्हेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ । चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेकोछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट...

‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी ! ‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !

२०७७ जेठ १७ गते शनिबार

युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...

गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

२०७७ श्रावण १७ गते शनिबार

०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...

लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप...

Top