माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


–सुन्दर कसजू

माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको अर्थ बुझी हेरौं | संक्रान्तिको अर्थ सूर्य एक राशिबाट अर्को राशिमा पुगेको समयको द्द्योतक हो | जति समय भित्र पृथ्वीले सूर्यको चारैतर्फ परिभ्रमण गर्दछ , त्यसलाई “सौर वर्ष” भनिन्छ | पृथ्वी गोलो भएर जुन बाटो सूर्यको चारैतिर घुम्छ त्यसलाई “क्रान्तिवृत्त ” भनिन्छ | त्यै परिधि नक्षत्र अनुसार बाँडिएको समय १२ राशि हो , सूर्य एउटा राशिबाट अर्को राशिमा सर्नु “संक्रान्ति” भनिएको हो |( रवे: संक्रमणं राशौ संक्रान्तिरिति कथ्यते। स्नानदानतप:श्राद्धहोमादिषु महाफला।। नागरखंड (हेमाद्रि, काल, पृष्ठ ४१० ); मेषादिषु द्वादशराशिषु क्रमेण सञ्चरत: सूर्यस्य पूर्वस्माद्राशेरुत्तरराशौ संक्रमणं प्रवेश: संक्रान्ति। अतस्तद्राशिनामपुर:सरं सा संक्रान्तिर्व्यपदिश्यते। काल निर्णय, पृष्ठ ३३१ ।) कान्तिवृत्तको कल्पित प्रत्येक भागलाई नक्षत्रहरुको पुञ्ज मानिएको हुन्छ र यसैको आधारमा राशि निर्धारण भएको हुन्छ | गृह्यसूत्रमा लेखिएको ‘उदगयन’ नै उत्तरायण हो , तर , मकर संक्रान्तिको अर्थ सूर्य मकर राशीमा प्रवेश गर्नु हो | ६ महिना सम्म सूर्य त्यो क्रन्त्तिवृत्त भन्दा उत्तरपट्टि हुन्छ जसलाई उत्तरायण र ६ महिना दक्षिणपट्टि हुन्छ जसलाई दक्षिणायन भनिन्छ | यै ६ महिनाको अवधि अयन भनिन्छ |

उत्तरायणमा सूर्य उत्तर तिरबाट उदाएको देखिन्छ भने दक्षिणायनमा दक्षिण तिरबाट | उत्तर तिरबाट उदाउँदा दिन लामो हुन्छ र दक्षिण तिरबाट उदाउँदा दिन छोटो हुन्छ | पृथ्वी क्रान्ति वृत्त भएर घुम्न पुग्दा संक्रान्ति हुन्छ | यस अर्थमा पृथ्वीको घुमाईको गणना नै सूर्यको घुमाई मानिएको हो | पृथ्वीले साढे २३ डिग्री आफ्नो अक्षतर्फ झुकेर सूर्यको परिक्रमा गर्ने गर्दछ ,उता चन्द्रमाको पथलाई २७ नक्षत्रमा बाँढिएको हुन्छ , ती नक्षत्रहरूनै सूर्यको पथ मानिन्छन ,ती नक्षत्रहरूलाई ९ पाउको दरले १२ राशीमा बाँडेको हुन्छ | पृथ्वीको घुमाई २ किसिमको घुम्छ – एउटा आफ्नो कक्षमा अर्थात परिवेशमा घुम्दा दिन र रात हुन पुगेको हुन्छ , अर्को क्रान्तिवृत्त भएर सूर्यको परिक्रमा गर्दा एक बर्षमा जुन चक्र पुरा गर्दछ त्यसलाई सौर बर्ष भनिन्छ |

पृथ्वीले सूर्यको परिक्रमा गर्ने बाटो अण्डा आकारको हुन्छ र त्यो बाटो १२ भागमा बाँडिदा आकाशमा रहेका नक्षत्र पुञ्ज संग मिल्न पुग्छ | त्यसकारण मेष ,वृष , मिथुन ,कर्कट ,सिंह ,कन्या ,तुला,वृश्चिक,धनु ,मकर,कुम्भ ,मीन भनिएको छ | कुनै बर्ष मलमास वा अधिकमास परेपनि राशि १२ टै हुन्छन | त्यो नाउँनै बैसाख ,जेठ ,असार ,साउन ,भदौ,असोज ,कात्तिक, मंगशीर ,पुष ,माघ ,फागुन ,चैत्र भनिन पुगेको हो | प्राचीन श्रौत सूत्र , गृह्य एवं धर्म सूत्रमा यी राशिहरुको नाउँ भेटिन्न , नक्षत्रको उल्लेख चाहीं भेटिन्छ |

मत्स्यपुराणको ९८ अध्यायले संक्रान्तिको वर्णन गरेको छ | त्यो पुराणले भन्छ शुद्ध भएर ,श्रीमान वा श्री मती मध्ये कसैले कुनै संयमी ब्राह्मण गृहस्थलाई तीन टपरा खानेकुरो यम (धर्म ), रुद्र र गाईको नाउँमा दान गर र तलको श्लोक पढ – ‘यथा भेदं’ न पश्यामि शिवविष्ण्वर्कपद्मजान्। तथा ममास्तु विश्वात्मा शंकर:शंकर: सदा।। अर्थात् म शिव एवं विष्णु तथा सूर्य एवं ब्रह्मामा अन्तर देख्तिन , ती शंकर, जो विश्वात्मा हुन , ले संधै कल्याण गरुन | देवीपुराणले – ‘जो व्यक्ति संक्रान्तिका दिन नुहाउन्न त्यो मान्छे सात जन्मसम्म रोगी ,निर्धन रहन पुग्नेछ , भनेको देखिन्छ | हेमाद्रि र कालनिर्णय जस्ता ग्रन्थले सूर्यमात्र होइन प्रत्येक ग्रहको राशि परिवर्तनलाई पूण्यकाल भनेर वर्णन गरि दिएको छ ,यसका केहि विशेष निर्णयपनि गरिएका छन | जस्तो – सूर्य संक्रान्तिको हकमा संक्रान्तिदेखि पहिले वा पछिको सबा ६ घण्टा , चन्द्रमाको लागि २४ मिनेट ,मंगलका लागि १ घण्टा ३६ मिनेट ,बुधका लागि १ घण्टा १२ मिनेट ,बृहस्पतिका लागि १ घण्टा ३६ मिनेट ,शुक्रका लागि १ घण्टा ३६ मिनेट र शनिकालागि साढे ३२ घण्टा पूण्य मानिएका छन् |

संक्रान्तिको किसिम

( पञ्चसिद्धान्तिका (३ |२३ -२४ , पृष्ठ ९ )अनुसार – ‘मेषतुलादौ विषुवत् षडशीतिमुखं तुलादिभागेषु। षडशीतिमुखेषु रवे: पितृदिवसा येऽवशेषा: स्यु:।। षडशीतिमुखं कन्याचतुर्दशेऽष्टादशे च मिथुनस्य। मीनस्य द्वार्विशे षडविशे कार्मुकस्यांशे।। तुला आदिर्यस्या: सा तुलादि: कन्या। द्वादशैव भवन्त्येषां द्विज नामानि मे श्रृणु। एकं विष्णुपदं नाम षडशीतिमुखं तथा।। विषुवं च तृतीयं च अन्ये द्वे दक्षिणोत्तरे।। कुम्भालिगोहरिषु विष्णुपदं वदन्ति स्त्रीचापमीनमिथुने षडशीतिवक्त्रम्। अर्कस्य सौम्यमयनं शशिधाम्नि याम्यमृक्षे झषे विषुवति त्वजतौलिनो: स्यात्।। ब्रह्मवैवर्त (हेमाद्रि, काल, पृष्ठ ४०७ ) ।| यहाँ अलि वृश्चिक, गो वृषभ, हरि सिंह, स्त्री कन्या, चाप धनु:, शशिधाम्नि शशिगृह कर्कट, सौम्यायन उत्तरायण, याम्य दक्षिणायन (यम दक्षिणका अधिपति हुन ), झष मकर, अज मेष, तौली (तुलो वा तराजू ) तुला।’ अर्थात ,
२ टा अयन संक्रान्ति हुन्छन जसलाई मकर संक्रान्ति, उत्तरायण प्रारम्भ भएको समय ,अर्को कर्कट संक्रान्ति, दक्षिणायन प्रारम्भ भएको समय |

२ टा विषुव संक्रान्ति अर्थात् मेष एवं तुला संक्रान्ति , जतिखेर रात र दिन वरावर हुन्छन |
४ टा संक्रान्तिलाई षडयीतिमुख अर्थात् मिथुन, कन्या, धनु एवं मीन संक्रान्ति भनिएको छ , तथा
विष्णुपदी वा विष्णुपद अर्थात् वृषभ, सिंह, वृश्चिक एवं कुम्भ नाउँको संक्रान्ति
भनिएपनि वार अनुसार संक्रान्तिहरुको नाउँ बेग्ला बेग्लै कहलिन पुग्दछन | जस्तो – मन्दा, मन्दाकिनी, ध्वांक्षी, घोरा, महोदरी, राक्षसी एवं मिश्रिता अर्थात
आईतवार पर्ने संक्रान्ति घोरा ,सोमवार पर्ने ध्वांक्षी , मंगलवार पर्ने महोदरी , बुधवार पार्ने मन्दाकिनी , बिहिवार पर्ने मन्दा ,शुक्रवार पर्ने मिश्रिता ,शनिवार पर्ने राक्षसी | विष्णुपुराणले ‘चतुर्दशी, अष्टमी, अमावस्या, पूर्णिमा एवं संक्रान्ति पर्व तिथि भनेको छ |

माघे संक्रान्तिको धार्मिक महत्व

राशी चक्रानुसार यो दिन सूर्य मकर राशिमा पुगेको हुन्छ | यो दिन सूर्य मकर रेखाबाट उत्तरी कर्क रेखातिर उन्मुख हुन पुग्ने भएकोले यो महिनादेखि ‘उत्तरायण’ लागेको मानिन्छ | यहाँ अयन’ शब्दको अर्थ हो ‘मार्ग’ वा ‘स्थल | त्यस्तै सूर्य कर्क रेखाबाट दक्षिणी मकर रेखा तर्फ जानु ‘दक्षिणायन’ भएको ठानिन्छ | शास्त्र अनुसार उत्तरायण देवदिन तथा दक्षिणायन देवरात मानिन्छ | वैदिक कालमा उत्तरायणलाई देवयान तथा दक्षिणायनलाई पितृयान भन्ने गरिन्थ्यो | माघे संक्रान्तिको दिन यज्ञमा अर्पण गरिने हव्य ग्रहण गर्न देउताहरू पृथ्वीमा आउँछन र त्यसैबाटो पहिल्याउँदै पुण्यात्माहरु मानव शरीर छोडेर स्वर्गआदि लोकमा प्रवेश गर्दछन भन्ने लोक मान्यता अनुसार उत्तरायणको मरण पूण्यदायी मानिन्छ | उत्तरायणमा शरीर त्याग गर्ने व्यक्ति जन्म-मरणको चक्रबाट पूर्णत: मूक्त हुन्छ भन्ने कुरो हाम्रा शास्त्रहरुले प्रष्ट्याएको छ | हाम्रो समाजमा त्यहिकुरो गहिरो गरि रहन पुगेको छ | यो दिन संक्रान्ति अर्द्धरात्रि हुनुभन्दा पहिले हुन् पुग्यो भने दोश्रो प्रहर पूण्यकाल कहलिन्छ र यदि संक्रान्ति अर्द्धरात्रि पछि हुनपुग्यो भने अर्कोदिनको पूर्वभागलाई पूण्यकाल मानिन्छ | आजको दिनदेखि देवताहरुको प्रभातकाल शुरू भएको ठानिन्छ | सनातन हिन्दू धर्म शास्त्रले दक्षिणायनको ६ महिना देवताहरुको रात्रीकाल हुन्छ र उत्तरायणको ६ महिना देउताहरुको दिनकाल प्रष्ट्याएको छ |

भविष्यपुराण, विष्णुवचन ,निर्णय सिन्धु ,धर्मसिन्धु आदि ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड़डु , सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख गरिएको भेटिन्छ भने तेल शरीरमा घस्दा चिसोबाट मूक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिएको छ |

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥

(मकर संक्रान्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ। मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ।)

हाम्रा ग्रन्थहरुले तिलको प्रयोग महत्व दर्शाउंदै भनेको छ ‘जो मान्छेले तिलको प्रयोग आफ्ना घरमा ६ किसिमले गर्दछ त्यो मान्छे अभागी ,असफल धाराशायी कहिल्यै हुन्न | तसर्थ हाम्रो प्राचिन सनातनी समाज माघे संक्रान्तिको दिन आफ्नो शरीरमा तिल दल्ने , तिलको बुको लाउने , पवित्र भई पितृलाई तिलयुक्त तर्पण गर्ने ,अग्निमा तिल राखेर ताप्ने , तिल दान गर्ने र तिलको लड्डु खाने गर्दथ्यो – “तिलोद्वर्ती तिलस्नायी शचिर्नित्यं तिलोदकी। होता दाता च भोक्ता व षट्तिली नावसीदति।। ” – शातातप | माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ | माघे सङ्क्रान्तिका दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ | लिच्छविकालिन राजा मानदेवको पालादेखिनै सुरू भएको मानिने उपत्यका नजीकैको पनौतीमा मकरमेला लाग्ने गर्नु नेपालमा माघे संक्रान्ति पर्व कति प्राचिन हो ,आफै थाहा हुन्छ |

माघ १ गतेको एतिहाँसिक महत्व :

अहिले नेपालमा बुढामहाराजा श्री ५ पृथ्वीको एकीकरण अभियान ,राष्ट्रिय झन्डाको अपमान ,नेपाली परिचय प्रदाता पृथ्वीको नाउँ लेखेर थुक्नेलाई बहादुर भन्ने गरिएको छ , राष्ट्रले संरक्षण गरिदिएको छ | नेपाली लोकमा चर्चित हुने ” फेसन ” बन्न पुगेको छ | यहाँ ३०० वर्ष अघिको जाबो कीर्तिपुर शहरको जनसंख्याको झूठो प्रसंग झिकी १७ धार्नी नाकको प्रसंग अघि सार्ने गरिएको छ | अनि नेपाली पासपोर्ट बोक्ने पाङ्गदुरेहरुले नेपाली परिचयदातालाई गाली गर्ने सौभाग्य पाउने प्रवृत्तिले युग पाठक र खगेन्द्र संग्रौला जस्तालाई जन्माई दिएको छ | नेपाल एकीकरण नभएको भए के हुन्थ्यो ? अंग्रेजले लिन्थ्यो , चन्द्र सूर्य अंकित झण्डा हुन्नथ्यो ,युग पाठक जस्ता विद्वान जन्मिन्नथे , झण्डा च्याति किताप लेख्न पाउँदैनथे होला ,तर , हरौटा राज्यको नाउँनै आफ्नो देशको नाउँ राख्ने पृथ्वीले यक्ष मल्लले जस्तै भाई र छोराबीच मुलुक भाग लाईदिएको भए , के हुन्थ्यो ? नेपाल न चुम्माचाटिले जोडिन्थ्यो , न बेदका ऋचा पढेर जोडिन्थ्यो , न बाइवलको गोसपेल, न कुरानको इन्जिल पाठ गरेर जोडिन्थ्यो | पृथ्वीले सबै नीति अपनाएर यो मुलुक जोडे जुन विना यो मुलुक जोडिनैदथ्यो |

उनीसंग दृढ इच्छा शक्ति थियो | त्यसैले जावो नाक त के टाउकै गिडेर दिएको भएपनि , मुलुक जोड्नेप्रति नेपालीहरु अनुगृहित हुन सक्नु पर्थ्यो | आज सर्वोच्च शिखर सगरमाथा सहित आठ हजार मिटर अग्ला आठओटा हिमाल , भगवान बुद्ध ,पशुपतिनाथको मन्दिर , वैदेहिको जन्मभूमि जनकपुर तिनले नेपालको सम्पत्ति भन्न कसरी पाउंथे ? त्यतिखेरको व्रिटिश दवदवाको वेला , गोर्खाको त्यो २० बर्षे ठिटोले नेपाल एकिकरण गरिदिएकै कारण नेपाली पासपोर्ट बोकेर हिड्ने युग पाठक जस्तो धूर्तले उनलाई गाली गर्न भ्याएको छ | प्रचण्ड जस्तोले सामन्तिको आरोप लाउन पाएको छ | कलिलै उमेरमा , नेपाललाई चार वर्ण छत्तिस जातको फुलवारी भनेर चिन्ने त्यो ठिटोले नेपाल जस्तो बहुसांस्कृतिक , बहुभाषिक , बहुधार्मिक देशको महत्व नबुझेको भए दुई ढुंगाबीचको तरुलको कुटनीति गर्न सक्तैन थ्यो | नेपाललाई स्वतन्त्रता दीवश मनाउने मौका नदिने त्यो ठिटो बेलायती उपनिवेशबाट अमेरिका स्वतन्त्र हुनुभन्दा दुई वर्ष अघिनै वितेर नेपाललाई विश्वको जेठो मुलुकको पंक्तिमा उभ्याउन सफल भयो | जसरी विस्मार्कलाई विर्सेर जर्मनी, पिटर द ग्रेटलार्य विर्सेर रुस, जर्ज वाशिंगटनलाई विर्सेर संयुक्त राज्य अमेरिका, सम्राट मैजीलाई विर्सेर जापान, सनयात सेनलाई विर्सेर चीन, महात्मा गान्धीलाई विर्सेर भारतको कल्पना हुन्न त्यसैगरी पृथ्वीनारायण शाहलाई विर्सेर नेपालको कल्पना हुनै सक्दैन |

नेपालको त्यस्तो सपूत , बुढामहाराज श्री ५ पृथ्वी नारायण शाह , नेपाल एकीकरण गर्दा युद्धले गलेर थिलथिलो भएको ५१ बर्षे शरीर लिएर वि .स. १८३१ मंसिर महिनामा काठमाडौंको जाडो छल्न नुवाकोट गएका वखत नुवाकोट दरबारमा नै थला परे | त्यसपछि ती युगपुरुष , त्रिकालदर्शी, भविष्यवेत्ता , नेपाल र नेपालीका परिचय दाता स्वास्थ्यकोकारण हरेसखाई त्रिशुली र तादीनदीको संगमस्थल देवीघाटमा ल्याई पुर्‍याइए र बि .स. १८३१ माघे संक्रान्तिको दिन प्रातः ७ बजे सम्पूर्ण नेपाल र नेपाली भावानालाई टुहुरो बनाउदै मोहिनी तिर्थमा प्राणोत्सर्ग गर्न पुगे | उनले देह त्याग्नु पूर्व जुन एकीकरण प्रक्रिया आरम्भ गरेका थिए , नेपालले आन्तरिक, बाह्य, प्रतिरक्षा, अर्थ ,व्यापार , वाणिज्यसम्बन्धी क्षेत्रमा कस्तो नीति अवलम्बन गर्नुपर्छ भनेर जुन व्याख्या गरेका थिए उनका ती मौलिक अवधारणालाई ‘दिव्योपदेश’ भनिएको हो | पृथ्वीनारायण शाहका दिव्योपदेशको एक एक सूत्रको अब व्याख्या गरिनै पर्छ | उनका ती भनाइ प्रारम्भिक तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा राखिनै पर्दछ | हाम्रा अहिलेका नैतिकहीन गणतान्त्रिक नेताहरु पृथ्वीनारायणसँग डराउँछन | उनको दिव्य उपदेशको शब्द र अर्थसँग डराउँछन् | उनको पराक्रम र नैतिक निष्ठासँग डराउँछन् र उनको नामसँग तर्सन्छन | उनले आर्जेको मुलुकमा ढलिमली गर्दै उनको नाउँ समेत उच्चारण गर्न डराउनु उनको यश औ कीर्तिले लखेटेको लक्षण हो , तर नेपाल रहेसम्म उनलाई मेट्न सकिँदैन , किनभने, नेपाली जनता पृथ्वीनारायणका अगाडि शिरमात्रै होइन, हृदय पनि झुकाएर सम्मान प्रकट गर्दछन |

माघ १ गतेको पौराणिक महत्व :

महाभारतको भिष्मपर्व अनुसार आफ्ना पिता शान्तनुबाट ईक्ष्या मृत्यु वरदान पाएका भीष्म पितामहले यस संसारमा पूनर्जन्म नहोस् भन्ने ईक्षाले आजकै दिन मृत्यु रोजेका थिए | आजकै दिन आशुतोष शिवजीले भगवान विष्णुलाई आत्मज्ञान दिएका थिए | ज्योतिषीय दृष्टिले सूर्य र शनिको तालमेल नभएपनि आजको दिन सूर्य आफ्ना छोरा शनिका घर बस्न आइपुग्छन भन्नेकुरा पौराणिक वर्णनको कारण माघ महिनाको महत्व रहेको हो , अर्थात मकर र कुंभ राशी शनीको क्षेत्र हो | त्यसकारण यो दिन कलह गर्ने बाबुछोराकोलागि प्रेरणात्मक दिन हो | आजकैदिन भगवान विष्णुले असुरहरु समाप्त गरि युद्ध सकिएको घोषणा गरेका थिए | त्यसैले आजको दिन नराम्रो र नकारात्मकता निर्मूल भएको दिनको रुपमा स्वीकारिएको छ | आजकैदिन गंगाजी पृथ्वीमा अवतरित भई भगीरथकोपछि लागेर जन्हु ऋषिको आश्रम हुदै सागरमा मिसिएकि थिइन् | आजको दिन गङ्गा स्नान र तीर्थ स्थलहरुमा पुगेर नदीको पानीमा नुहाउँदा मोक्ष पाइन्छ भन्ने विश्वाश छ | माघ १ गतेदेखि मौषममा न्यानोपना बृद्धि हुँदै गई छोटो रात ,लामो दिन हुँदै जांछ भने सूर्य आजको दिनदेखि दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतिर सर्न थालेको देखिंदा सूर्यको प्रकाशमा गर्मी र तापमानमा बृद्धि हुँदै जान्छ | त्यसैले माघे संक्रान्ति सम्पूर्ण नेपाली सनातनिहरुकोलागि पूण्यको दिन ठहरिन पुगेको हो |

अस्तु -प्रवीण अधिकारी / रुरु नेटवर्कबाट साभार



Comment from facebook



थप खबर पढ्नुहोस्
चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

२०७७ मंशिर २२ गते सोमबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...

सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना

२०७६ कार्तिक २६ गते मंगलबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...

कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु

२०२६ पुष १७ गते बिहिबार

१३ सेप्टेम्बर, २०२०दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि...

अमेरिका–चीनबीच नयाँ व्यापार सम्झौता अमेरिका–चीनबीच नयाँ व्यापार सम्झौता

२०२६ पुष १७ गते बिहिबार

१६ जनवरी, २०२० न्यूयोर्क । विगत लामो समयदेखि दुई...

Top