Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
कुनै जमना थियो, मानिसहरु खोला वा नदी देखे भने फूलपाती वा अन्य केही बस्तु चढाएर ढोग्दथे । कञ्चन नदीमाथि बनाइएको झोलुङ्गेपूलको खम्बामा फूलपाती वा पैसा चढाएर नदी पार गर्ने अनि आफ्नो यात्राको सफलताको लागि ‘गंगा’सँग बरदान मागेको तपाईँमध्ये धेरैलाई अझै याद होला । त्यसो त अहिले पनि गाउँघरतिर खोला नदी तर्दा पुरानै तरिकाले ‘गंगा’ प्रति सम्मानभाव प्रकट गर्ने चलन छ ।
तर देशको राजधानी काठमाडौंमा पछिल्ला वर्षहरुमा बढ्दै गएको अव्यवस्थित बस्ती र त्यो सँगै भित्रिएको कलकारखानालगायतबाट निस्कने फोहोरले काठमाडौंका खोला नदीहरु अत्यन्तै दुर्गन्धित बन्दै गएका छन ।
माथिको तस्वीर काठमाडौंको नयाँबसपार्क छेवै भएर बग्ने विष्णुमती नदीको हो । तस्वीरमा झट्ट हेर्दा तपाईँलाई पत्यार लागेन होला यो नदीकैे दृश्य हो भनेर । तर यो तस्वीर त्यही नदीको हो जुन नदी काठमाडौंको उत्तर दक्षिण भएर सदिऔं अघिदेखि अविरल रुपमा बहिरहेकी छन् । कुनैबेला यी नदीमा बग्ने पानीले यस आसपासका हजारौं रोपनी खेतहरुमा सिंचाई हुने गरेको थियो । दुर्भाग्यपूर्ण कुरा त के छ भने अहिले विष्णुमतीमा पानी भन्दा फोहोर धेरै देखिन्छ । विष्णुमतीका आसपासमा रहेका सुकुम्बासी बस्तीदेखि अव्यवस्थित ढंगले सञ्चालित बधशालाहरुका कारण नदी अतिक्रमणको चपेटामा पर्न थालेको छ ।
काठमाडौंको टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको सिमास्थित सांङ्लेखोलाको मुहान झोंरबाट शुरुभएको विष्णुमतीको पानी सोभाभगवती, कालीमाटी हुँदै चोभारबाट बाहिरिन्छ । तर विगत १ दशकदेखि उपत्यकाका अन्य खोला तथा नदी जस्तै विष्णुमती पनि मानव अतिक्रमणको चपेटामा पिल्सिएको छ । सुकुम्बासीबस्तीका मलमुत्र पनि नदीमै मिसाईसँदा नदीको पानी फोहोर हुनुका साथै दुगन्धित बन्दै गै रहेको छ ।
यस्तै प्लाष्टिकजन्य नकुहिने फोहोरले नदीका अधिकांश भाग ढाक्न थालेको छ । जसको प्रभाव जलवायुपरिवर्तनमा समेत देख्न थालिईसकेको छ । सोभाभगवतीदेखि तलको क्षेत्रमा सञ्चालित एक दर्जन बढी अव्यवस्थित बधशाला र त्यसबाट निस्कने फोहोरका कारण विष्णुमती नदी अत्यन्तै प्रदुशित बनेको छ । त्यसो त हिन्दु धर्ममा नदीलाई देवीको रुपमा हेर्ने गरिन्छ । तर अहिले तिनै ‘देबी’माथि काठमाडौंबासीले चरम अपहेलना गरिरहेका छन् ।
विशेषतः नदी छेउछाउका बस्ती र त्यहाँबाट निस्कने फोहोरका कारण नदी प्रदुशित बन्दै गएको हो । काठमाडौंको नयाँबसपार्क नजिकैको विष्णुमती खोला छेउमा ५ दशकदेखि बस्दै आएका रामबहादुर श्रेष्ठ पहिलेको विष्णुमती र अहिलेको विष्णुमतीबीच तुलना नै गर्न नसकिने बताउछन् । ‘पहिला हामी विष्णुमतीको पानीले नुहाई धुवाई गर्दथ्यौं, कतिपय अवस्थामा यो पानी हामीले पिउनका लागि पनि प्रयोग गरेका थियौं, तर अहिले एक थोपा हातमा प-यो भने पनि चिलाउँछ कि भन्ने डर लाग्छ ।’
विकासको नाममा प्राकृतिक सम्पादमाथि गम्भीर क्षति पुग्ने काम गर्नु सबैको लागि घातक भएको उनी बताउँछन् । नदी प्रदुषित हुँदा यसको प्रभाव मानवस्वास्थ्यमा समेत परेको छ । हुन त विष्णुमती नदीको सरसफाईका लागि भन्दै नदीछेउमा हप्तैपिच्छे विभिन्न संघसंस्थाका टोलीहरु नपुग्ने होइनन् । तर नदी सफा गर्नुभन्दा उनीहरु नदी छेउमा उभिएर झाडु समातेको फोटो फेसबुकमा हाल्नमै समय खचिरहेका छन् ।
परिणामस्वरुप हप्तैपिच्छेजसो हुने सरसफाई कार्यक्रम उपलब्धी बन्दैछ । कुनैबेला बाग्मती नदी सरसफाई गर्न सृङ्गखलाबद्धरुपमा नै काम भयो, तर बाग्मती जस्तै महत्वपूर्ण उपत्यकाकै अर्की नदी विष्णुमती यतिबेला देख्दा कुरुप र सुँघ्दा दुर्गन्धित बन्दै गै रहेकी छन् । नदी सफा गर्नु सबैको दायित्व हो, तर नदीछेउमा घरबस्ती भएकाहरु यसप्रति थप जिम्मेवार बन्नुपर्दछ । अनि नदी फोहोर गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्न पनि सरकारले अब ढिला गर्नुहुन्न ।
२०२६ पुष १७ गते बिहिबार
२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय...
२०७७ असार २० गते शनिबार
०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...
२०७६ पुष २१ गते सोमबार
माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...
२०२६ पुष १७ गते बिहिबार
१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...
Top