Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
– पि.एल . तरंग
पुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर मस्त निद्रामा सुतिरहेका बेला क्षेत्रपाटी बस्ने मनोज सुन्दास आँखा मिच्दै झल्यांस्स विउँझन्छन् । मनोज ओछ्यानमै हुँदा नजिकैको पर्यटकीय नगरी ठमेलको रात्रीकालिन मनोरञ्जनको आवाज उनको कानसम्म आइपुग्दछ । विरामी भएर उठ्नै नसक्ने अवस्था बाहेक महिनामा २६ दिन मनोज बिहान चारै बजे उठ्छन् । हतार हतार उठी मुख धोएर क्षेत्रपाटीबाट हिँडेरै असन, भृकुटीमण्डप, पुतलीसडक, अनामनगर हुँदै नयाँबानेश्वरस्थित शान्तिनगर पुग्दछन् उनी ।
जहाँ उनको ‘अन्नदाता’ उनलाई कुरेर बसिरहेको हुन्छ । शान्तिनगर पुग्दा राम्ररी उज्यालो समेत भैसकेको हुँदैन । अनि ग्यारेजमा रहेको ‘अन्नदाता’ अर्थात् बा १ ह, ४०१९ नम्बरको सफा टेम्पो पुछपाछ गर्दछन् उनी । बिहान साढे ५ बजे नै टेम्पो लिएर यात्रु चढाउँदै सहिदगेट हुँदै रत्नपार्क आइपुग्छन् उनी ।
यो रुटमा उनले दिनमा कम्तीमा २० पटक (१० टिप) ओहोर दोहोर गर्नुपर्ने हुन्छ । दिनभर टेम्पो चलाएपछि उनी राति ९ बजे टेम्पो थन्क्याउन फेरि शान्तिनगर पुग्दछन् । ३ हजार ८ सय रुपैयाँ उनले दैनिक ट्याम्पुका मालिकलाई बुझाउनै। मालिकलाई बुझाएपछि उनको हातमा कहिले ५ सय त कहिले एक/ दुई सय रुपैयाँ उप्रन्छ । अनि फेरि त्यहाँबाट पाए गाडी चढेर रत्नपार्क त नभए हिँडेरै बिहान आएको बाटो हुँदै छेत्रपाटीस्थित कोठामा आइपुग्छन् ।अनि खाना बनावरी खाएर सुत्ने तरखर गर्दा घडिले ११ बजेको संकेत गरिसकेको हुन्छ ।
२४ वर्षका मनोजले शान्तिनगर सुन्धरा चल्ने बा १ ह ४०१९ नम्बरको विद्युतीय टेम्पो चलाएको करिब डेढ वर्ष भयो । टेम्पो चलाएबापत महिनामा तलव १५ हजार रुपैयाँ मनोजको हातमा पर्दछ । त्यसबाहेक दैनिक साहुलाई बुझाएर बच्ने रकम उनको थप कमाई हो ।
२०५१ सालमा सिन्धुपाल्चोकको तत्कालीन साँगाचोक गाविसमा जन्मिएका मनोज आठ बर्षको हुँदा उनका बाबुले अर्की आमा ल्याएर काठमाडौंमै बस्न थाले । बुबाले अर्की आमा लिएर काठमाडौं बसेको चालपाएपछि आमाले पनि अर्कै पुरुषलाई रोजेर बाटो तताईन् । अनि त मनोर र उनका ३ वर्षका भाई वेसाहारा भए । आफे छोरा र बुहारीले दुई नातीलाई छाडेर अर्कैसँग घरजम गरेपछि मनोजका हजुरबुबा र हजुरआमाको थाप्लोमा अर्को जिम्मेवारी थपियो । अनि हजुरबा, हजुरआमाकै संरक्षणमा मनोज र उनका भाई हुर्कन थाले । दुखजिलो गरेर हजुरबा, हजुरआमाले मनोजलाई गाउँमै एसएलसीसम्मको अध्ययन गराईदिए । त्यसपछि मनोज उच्चशिक्षा अध्ययनको लागि काठमाडौं हानिने तयारी गर्न थाले ।
स्कुलमा पढ्दा मनोजले गायन क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरुमा सांगीतिक प्रस्तुती पस्कन थालिसकेका थिए । काठमाडौं आउँदा उनी क्याम्पस पढ्ने र अध्यनबाट बचेको समय गीत गाएर सफल कलाकार बन्ने योजनामा थिए । उनलाई आशा थियो कि सौतनी आमा लिएर बसेका बुबाले उनलाई केही न केही सहयोग गर्नेछन् । तर सोचेजस्तो भएन ।
२०६९ सालमा मनोज काठमाडौं आएपछि उनले लगनखेलमा होटल सञ्चालन गरिरहेका बुवाबाट कुनै सहयोग पाएनन् । फलस्वरुप केहीदिन उनी सडक बालबालिकासँग लगनखेलको चौतारोमा रात गुजार्न बाध्य भए । त्यस बेलाको घटना सम्झँदै उनी भन्छन्–“म सँग साथमा ५० रुपैयाँ थियो । सँगै एकजना बुढी आमा जाडोमा कठ्यांग्रिँदै खानेकुरा खान नपाएर बसिरहेको देखेँ, मन थाम्न सकिएन त्यो ५० रुपैया झिकेर ती आमालाई दिएँ ।”
क्रिमशस पर्व २०१९ को दिन यो पंक्तिकारले ठमेलस्थित एक रेस्टुरेन्टमा मनोजसँग कुराकानी गर्दैगर्दा उनी आफ्नो विगत सम्झेर निक्कै भाबुक देखिन्थे । उनी आफ्नो संघर्ष अघि सुनाउँदै थिए । १८ वर्ष पुगेपछि उनले नेपाली नागरिकता लिनको लागि प्रमाण जुटाउन बुबासँग ठूलो पौठाजोरी खेल्नुप-यो । मेरो छोरा नै होइन भन्दै मनोजका बुबाले नाता प्रमाणित गर्न नमानेपछि आफूले पुलिस लगाएर उनको नागरिकता जफत गरी गाउँमा गएर नागरिकताको सिफारिस दिन लगाएको उनी सम्झन्छन् । पछि हजुरबुबा हजुरआमाकोतर्फबाट उनले नागरिकता प्राप्त गरेका थिए रे । जागिर र पढाईको तारतम्य मिलाउनका लागि उनी काठमाडौं र ललितपुरका गल्ली गल्ली भौतारिँदै गर्दा गाउँकै एकजना दिदी उनको लागि ‘भगवान्’ सावित बनिदिइन् ।
मनोजको गाउँकै अस्मिता पोखरेल नामकी दिदी मार्फत् उनी टेम्पो ग्यारेजमा कामका लागि पुगे । त्यसपछि उनलाई अब त केही कमाउन सकिन्छ भन्ने आशा पलायो । त्यहिँ काम गर्दैगर्दा उनले टेम्पो चलाउन सिके र विस्तारै चालक अनुमतिपत्र समेत निकाल्न सफल भए । त्यसपछि कलाकार बन्ने सपना बुनेर काठमाडौं छिरेका मनोज टेम्पो चालक बन्दै काठमाडौंका सडकमा टेम्पो गुडाउन थाले । पहिलो पटक टेम्पो चलाउँदै गर्दा उनले रामकृष्ण ढकालले गाएको – ‘मलाई यो जिन्दगीले कहाँ पु-यायो…’ बोलको गीत उनको कानमा गुञ्जिइरहेको उनी सम्झछन्, । आफ्नो सांगीतिक भोक मार्न उनी नेपाली तारा ३ मा पनि सहभागी भएको स्मरण गर्दछन् । तर त्यहाँ पनि ‘काखापाखा’को व्यवहार भएपछि उनी छनौट चरणबाटै बाहिरिएको दुखेसो सुनाउँछन् । एकवर्ष काठमाडौंका सडकमा टेम्पो चलाईसकेपछि उनलाई एउटा गाउँमा एक गैरसरकारी संस्थामा काम मिल्यो, अनि फेरि उनी गाउँ हानिए ।
तर त्यो कामले उनलाई गाउँमा भुलाउन सकेन । अनि उनी काठमाडौं नै फर्केर पुरानै पेशालाई निरन्तरता दिइरहेका छन् । त्यसो त विदेश जाने लिएर सोचमा पासपोर्ट समेत बनाउन भ्याए भनोजले । अहिले त्यही पासपोर्ट सिरानीमा राखेर सुत्दा मनोजको दिमागमा विभिन्न प्रश्न उब्जन्छ । कहिले भोलि नै विदेश जाने तयारी गर्छु भन्ने सोचमा पुग्नेको मनको धेरै हिस्सा भने सकेसम्म विदेश जानै नपरे हुन्थ्यो भन्ने सोचले ओटेको छ । त्यसैले उनी यही केही गर्ने सोचमा छन् ।
देशको मूलनीति राजनीतिप्रति उनलाई असाध्यै श्रद्धा छ, तर त्यसलाई सञ्चालन गर्ने ‘चालक’को कार्यशैलीप्रति उनलाई वितृष्णा जागेको छ । प्रकृतिले देशलाई अमूल्य बनाएपनि नेतृत्वलाई यसलाई दुरुपयोग गरिरहेको भन्दै उनी युवा तथा भावी पुस्ताका लागि अहिलेको राजनीतिकको कार्य दुर्भाग्यपूर्ण भएको बताउँछन् । सवारी साधन चलाएर जिवीकोपार्जन गर्ने सोच हुँदाहुँदै पनि पाखुरी खियाएर काम गर्नेहरुका लागि देशभित्र काम गर्ने बातावरण नबनेमा मनोजको मन अमिलो बनेको छ । उनी अगाडि थप्छन्– “आफ्नो जन्मभूमिमै बसेर केही गर्ने उत्कट चाहना अझै पनि मरेको छैन तर, देशमा पेसा र व्यवसाय गर्र्ने व्यक्तिको मूल्य छैन, सुरक्षा छैन, सम्मान छैन । भिभिआईपी, भिआइपी, ट्राफिक प्रहरीका उच्च पदस्थ व्यक्ति तथा हुने खानेका आफन्त मन्दिर जाने बेला पनि सार्वजनिक सवारी साइड लगाउँदा भने मन भक्कानिन्छ, मनि एक्लै सोच्छु कस्तो मुलुकमा जन्मिएछु ? ”
देशका युवा शक्तिलाई यही रोकेर देश बनाउने अभियान सरकारले थालेमा आफू त्यसको अग्रपंक्तिमा उभिने सोचमा मनोज छन् । दैनिक हजारौं युवा विदेसिनु थोरै रहर र धेरै बाध्यता भएको मनोजले राम्ररी बुझेको छन् । “राजनीतिक गर्नेहरुले उनीलाई सम्मान गर्न लायक काम गर्नुपर्दछ । तर अहिलेसम्म कोही नेताले पनि त्यो काम नगरेकोले मैले कसैलाई चुनावमा भोट हालिन र आजसम्म कुनै पार्टीमा पनि आबद्ध छैन ।”
मनोज विगतको चुनाव सम्झँदै अघि थप्छन्–“चुनावका बेला जनताको आएर लम्पासार पर्नेहरु पछि तिनै जनतालाई उपेक्षा गरेको देख्दा आफैंलाई धिक्कार लागेर आउँछ ।” राजनीतिज्ञको अघिपछि लाग्ने उनीहरुका आफन्त, नातेदार वा केही टाठाबाठाहरुले मात्रै अवसर पाउनु सिँगो युवाशक्ति र देशको लागि दुर्भाग्यपूर्ण भएको आम नागरिकको जस्तै मनोजको पनि ठम्माई छ । मुलुकको बागडोर युवा शक्तिमा जाने हो भने नेपाल युरोप र अमेरिका कै दाँजोमा पुग्न कुनै समस्या नहुने कुरामनोजले राम्ररी बुझेका छन्, तर उनी यो कुरा पनि विश्वस्त छन् कि आफ्नो पुस्ताभर उनले सोचेको यो विकास उनले आफ्नो आँखाले देख्न पाउँदैनन् । एकाएक मनोज भाबुक हुन्छन् र भन्छन् –“को छ र विकासप्रेमी नेता, अनि कहिले हुन्छ हाम्रो सपना पुरा ? ”
२०२६ पुष १७ गते बिहिबार
२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय...
२०२६ पुष १७ गते बिहिबार
२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट...
२०७७ जेठ १९ गते सोमबार
०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...
२०७७ जेठ २३ गते शुक्रबार
०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...
Top