Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ । त्यो कुरा मैले थाहा पाउने कुरै भएन । २०६३ साल मङ्सिर ५ गते त्यस्तो द्वन्द्व अन्त्य गर्न देशमा सरकार र विद्रोहमा रहेको माओवादी पार्टी बीचमा सम्झौता भएको रहेछ । त्यतिबेला म करिब चार वर्षको रहेछु । त्यो सम्झौताको नाम ‘वृहत् शान्ति सम्झौता’ रहेछ । अहिले बुझ्ने भएपछि त्यस बेलाको कुरा सुन्दा डर लागेर आउँछ । त्यस्तो डरलाग्दो अवस्थाको अन्त्य गर्न तत्कालीन सरकार र माओवादी पार्टीको बीचमा शान्ति सम्झौता भएपछि जनताले आरामको सास फेरेका रहेछन् भन्ने मैले बुझेँ ।
यही शान्ति सम्झौता भएको यो वर्ष एक दशक पुगेको हो । यसै उपलक्ष्यमा खुल्ला निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो । सरकारी विद्यालयहरूमा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि मात्र यस्तो अवसर दिइएको थियो । यसै वर्षको वैशाख अन्तिमतिर राष्ट्रिय दैनिक पत्रपत्रिकामा सूचना दिएर मागिएको निबन्धको विषय ‘शान्ति र प्रजातन्त्र’ थियो । उक्त सूचनालाई आधार मानेर मैले पनि विषयमा धेरै कुराहरू खोजेँ । निबन्धका केही कितावहरू पढेँ । पत्रपत्रिकामा पनि त्यो विषयसँग सम्वन्धित लेखहरू पढेँ ।
स्कुलमा सरहरूलाई सोधेँ । घरमा बाबालाई सोधेँ । निबन्ध लेखेँ । फेरि एकपटक सरलाई देखाएँ । अनि बल्ल आयोजकहरूले दिएको ठेगानामा पढाएँ । त्यसरी निबन्ध पठाउन पाउँदा खुसी लागिरहेको थियो । पुरस्कार पाउने पूर्ण आशा त थिएन । तर, पठाइसकेपछि केही भइहाल्छु कि भन्ने चाहिँ लागिरहेको थियो ।
निबन्ध पठाएको दुई महिना पछि त्यसको नतिजा सार्वजनिक भयो । नतिजा राष्ट्रिय दैनिक पत्रिकामै देखेँ । म निबन्ध लेखनमा तृतीय भएको रहेछु । साह्रै खुसी लाग्यो । त्यो खवर धेरै जनाले थाहा पाउनुभएछ । मलाई स्कुल र घरतिर धेरै जनाले बधाई दिनुभयो । त्यसपछि त झन् खुसी थपिएको महसुस भयो । परिश्रमको फल साँच्चै मीठो हुने रहेछ । प्रतियोगितामा मध्यमाञ्चलबाट पुरस्कृत हुने ममात्र रहेछु । त्यसपछि झन रमाइलो लाग्यो । प्रथम हुने साथी गण्डकी आवासीय मावि कास्कीका प्राविधिक केसी रहेछन् । त्यस्तै दोस्रो हुने साथी पनि पोखराकै अमर सिँह माविका अपार पौडेल रहेछन् । अनि, मसँगै तृतीय हुने साथी जनता मावि कपिलवस्तुकी समृद्धि भण्डारी रहिछन् ।
मैले कैल्यै नाम नसुनेका त्यति परपरका साथीहरूसँग आफ्नो नाम आयो । प्रथम पुरस्कार पाएको जस्तै खुसी लाग्यो । निबन्धको नतिजा श्रावण महिनामा भए पनि हामीलाई पुरस्कार मङ्सिर महिनामा दिने भनिएको थियो । त्यसैले मलाई नयाँ साथीहरूसँग भेट्न पाइने त्यो अवसर कहिले आउला भइरहेको थियो । तर, प्रतीक्षा गर्दै जाँदा मङ्सिर महिना पनि आयो । मङ्सिर १ गते काठमाडौँमा अन्तराष्ट्रिय शान्ति सम्मेलन गरिएको थियो । त्यसै सम्मेलनमा पुरस्कार लिनका लागि हामीलाई निम्ता गरियो । काठमाडौँ बाहिरबाट आएका साथीहरू अघिल्लै दिन आइसकेका रहेछन् । म पनि अभिभावकका साथ अघिल्लै दिन निर्धारित स्थानमा गएँ । अरू साथीका अभिभावकहरू पनि आउनुभएको रहेछ । सबसँग परिचय गर्ने मौका मिल्यो । निबन्धलेखनका बारेमा कुराकानी भयो ।
नेपाल सरकार र युरोपियन युनियनद्वारा आयोजित उक्त निबन्धलेखन प्रतियोगितामा पुरस्कृत हाम्रो निबन्धसहित पाँच विकास क्षेत्रबाट छनोट भएका अरू बीसवटा निबन्धहरू समेत राखी एउटा निबन्धको सँगालो बनाइएको रहेछ । हामी चार जनाको निबन्धलाई वाचन गर्न लगाई भिडियो रेकर्डिङ पनि गरियो । क्यामराको अगाडि पहिलोपल्ट त्यति लामो निबन्ध पढ्दा मलाई सुरुमा त डर पनि लाग्यो । पढ्दै जाँदा क्रमश डर हरायो । सबै साथीहरूले पढेको निबन्ध रेकर्डिङ भएको हेर्न पाउनु मेरा लागि नौलो अनुभव थियो ।
मङ्सिर १ गते हामीलाई अन्तराष्ट्रिय शान्ति सम्मेलन हुने काठमाडौँकै एक पाँचतारे होटलमा लगियो । हामी पुरस्कृत सबै जना सँगै त्यहाँ गयौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त कार्यक्रमको उद्घाटन भयो । म पहिले कहिल्यै पनि यति ठूलो कार्यक्रममा गएको थिइनँ । कार्यक्रममा बसेर शान्तिका बारेमा धेरै कुरा सुन्न पाएँ । नेपालको राष्ट्रपतिलाई नजिकैबाट पहिलोपटक देख्न पाएँ । यो पनि मेरा लागि खुसीको विषय भयो ।
त्यसै दिन राष्ट्रपतिबाट उद्घाटन भएकोे कार्यक्रमको पहिलो सत्र सकियो । दिउँसो दोस्रो सत्र सुरु भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहनुभएको त्यही सत्रमा हामीलाई पुरस्कार दिने कार्यकम थियो । कार्यक्रम सुरु भएपछि शान्ति सम्झौत भएको दश वर्षमा त्यसको प्रभावकारिताको वारेमा धेरै जनाले बोल्नुभयो । २०६३ मा शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट पुष्पकमल दाहालले हस्ताक्षर गर्नुभएको रहेछ । त्यही सम्झौता भएको दश वर्ष पुगेको अवसरमा आयोजित निबन्धलेखन प्रतियोगिताका विजयी हामीहरूलाई शान्ति सम्झौतको उति बेलाको धेरै कुरा सुन्ने मौका मिल्यो ।
पुरस्कार लिन मञ्चमा बोलाउँदा म अति प्रसन्न भएँ । मञ्चमा पुगेर प्रधानमन्त्रीको हातबाट पुरस्कार थाप्दै गर्दा उहाँले बधाई दिनुभयो । अझै सफलता मिलोस् भन्ने कामना गर्नुभयो । जीवनमा पहिलोपटक प्रधानमन्त्रीको हातबाट अन्तराष्ट्रिय सम्मेलनमा पुरस्कार पाउनु मेरा लागि अविस्मरणीय क्षण भएको छ ।
पुरस्कार थापेँ । तल आएर बसी विभिन्न राजनीतिक दलहरूका नेताहरूका धेरै कुरा सुन्न पाइयो । धेरै जनाले शान्ति सम्झौता पछि भएका सकारात्मक कुरा गर्नुभयो । केहीकेहीले असन्तुष्टिका कुरा गर्नुभयो । ती सबै कुरा सुन्दै गर्दा हामीले सानो छँदा थाहा नपाएका कुरा बुझ्न पायौँ । कार्यक्रम सकिए पछि हामी पुरस्कृत विद्यार्थीहरूसँग युरोपियन युनियनकी हेड अफ डेलिगेसन राजदूत रिन्चे टीरिन्क, फ्रान्सेली राजदूतलगायत आयोजक संस्थाका अरू प्रतिनिधिहरूले चासो राखेर धेरै कुरा सोध्नुभयो । हामीले उहाँहरूले सोधेको कुरा बतायौँ । हाम्रा कुरा सुनेर उहाँहरू पनि खुसी हुनुभयो । हामी सबैलाई बधाई दिनुभयो । माया गर्दै साथमा राखेर तस्विर खिचाउनुभयो । हाम्रा लागि त्यसरी भेटघाट गर्न पाउनु एउटा राम्रो मौका थियो ।
हाम्रो समाजमा सरकारी विद्यालय भनेपछि नाक खुम्च्याउने चलन छ । तर, सरकारी विद्यालयमै पढेका कारण मैले यति राम्रो अवसर पाएँ । मेरा साथीहरूले पाए । ठूलो कार्यक्रममा सानै भए पनि सफलता मिल्यो । निबन्ध लेखेकै कारणले त्यति परका साथीहरूसँग परिचित हुन पाएँ । सँगसँगै बसेर कार्यक्रम सुन्न पाएँ । उहाँहरूको अभिभावकसँग परिचय गर्न पाएँ । आत्मीयता साट्ने अवसर मिल्यो । विद्यार्थीहरूलाई यस्तै खालका कार्यक्रमहरूमा सहभागी हुँदा धेरै जानकारी हुने कुरा मैले अनुभव गरेँ । यस्तै कार्यक्रममा धेरै कुरा सुन्ने अवसर मिल्दा आत्मबल बढने रहेछ । ज्ञान बढ्ने रहेछ ।
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...
२०२६ पुष १७ गते बिहिबार
१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...
२०२६ पुष १७ गते बिहिबार
१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...
२०२६ पुष १७ गते बिहिबार
१८ मार्च, २०२०पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २...
Top