दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


१८ डिसेम्बर, २०१९
काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक दुर्घटनाका कारण सयौं सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । विशेष गरी कच्चि सडक, अदक्ष चालक, थोत्रा सवारीसाधन तथा चालकहरुको लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको जगजाहेरै छ । तर यस्ता दुर्घटना कम गराउने उपाय खोज्नु तथा दुर्घटना गराउनेलाई कारबाही गर्नुको साटो नियमक निकायका पदाधिकारीहरु भने आ आफ्नो डम्फू बजाउनमै व्यस्त छ ।

काठमाडौंमा आज गरिएको कार्यक्रममा पनि उनीहरुले आफ् आफ्नो क्षेत्रबाट सडक दुर्घटनामा हुनुमा एक अर्कोलाई दोषारोपण गरे । कार्यक्रममा विभागका महानिर्देशक केशब शर्माले सडक दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षबीच समन्वय हुनुपर्ने र सबैको सामूहिक प्रयासमा जोड दिएका छन् । पछिल्लो समय ठूलो मानवीय क्षतिसहितका सडक दुर्घटना बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीबाट पनि चासो भएको सुनाउँदै आफूहरु सबै सम्बन्धित निकायबाट सुझाव दिएको सुनाए । महानिर्देशक शर्माले सडक दुर्घटनाका कारण धेरै रहेको सुनाए । उनले दुर्घटना घटाउनको लागि सबै सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने,‘विश्वभरिनै वर्षेनि मृत्यु हुनेको संख्यामा सडक दुर्घटना तेस्रो नम्बरमा छ ।

सडक दुर्घटनामा ज्यान गुमाउँदा यसको मानवीय क्षति मात्रै हुँदैन्, यसले सामाजिक–आर्थिक असर पनि पुर्याईरहेको हुन्छ ।’ उनले सडक दुर्घटना मानवीय कारण, सडक पूर्वाधारका कारण, मौसमका कारण लगायत धेरै कारणले हुने गरेको दृष्टान्त पेश गरे । उनले भने,‘मानवीय कारणमा चालक, यात्रु र स्थानीय वा पैदल यात्रु पहिलो कारण हो । पूर्वाधारको कारणमा त्यो सडक सुरक्षित छ कि छैन् ? सडक सुहाउँदो सवारी साधन हो कि होईन त्यो पनि हेर्नुपर्छ । अर्को कुरा, मौसम पनि हो ।’आफूहरुको जिम्मा सडक भएकोले यसको लागि प्रभावकारी काम गरिरहेको उनको भनाई छ । उनले भने,‘क्रस कटिङपनि बनाउनेतर्फ लागिरहेका छौं, यसले दुर्घटना कम गर्न सहयोग गर्छ । सडक दुर्घटना न्यूनीकरणको लागि मिडियाले पनि सशक्त भूमिका खेलिरहेको छ ।’
उनले नयाँ सडक बनाउने बेलामा आफूहरु ‘रोड सेफ्टी डिजाईन’को अडिट गर्ने गरेको पनि सुनाए । उनले भने,‘घुम्ती नपुगेको ठाउँमा घुम्ती राख्न निर्देशन दिन्छौं, मोडमा त्यहीअनुसारको राख्नको लागि पनि भन्छौं, अनि सडक बनाउन सुरु गरिन्छ ।’

तर, ग्रामिण सडकहरु बिना ईन्जिनियरिङ बनाउने गरिएको पनि उनले सुनाए । उनले भने,‘अहिले देशभरि ८३ हजार किलोमिटर सडक छ, त्यसमा १५ हजार सडक हामीले हेर्ने हो ।’ उनले जुम्ला, जाजरकोट, सल्यान, रुकुमका सडकहरुमा सुरु सुरुमा धेरै दुर्घटना भएको र ती मार्गहरुलाई मृत्युमार्गको रुपमा चिनिने गरिएको पनि स्मरण गराए । तर, अहिले विभागले भएका सबै सडकहरुलाई फराकिलो बनाएको र अहिले मानवीय क्षतिसहितको दुर्घटना नभएको उनको स्पष्टोक्ति थियो ।

उनले ७० किलोमिटर खराब सडकको पहिचान गरी ‘क्रस–ब्यारिङ’ राखिएको पनि सुनाए । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत त्रिशुलीमा सवारी खस्ने र ठूलो मानवीय क्षति हुने गरेकोले सरकारले उक्त खण्डमा नयाँ सडक बनाएपछि अहिले दुर्घटना नभएको पनि उनले जिकिर गरे । उनले भने,‘दुर्घटना धेरै हुने सडकहरुको पहिचान गरी हामीले स्तरोन्नती गरेका छौं । अब सडक सुरक्षा सबैले अपनाउनुपर्छ ।’

त्यतिमात्रै नभएर पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–नौबिसे सडक खण्डको ब्ल्याक–स्पटमा पनि आफूहरुले ईन्टरभेन्सन गरेको र अहिले राजमार्गमा दुर्घटना कम भएको उनको दाबी छ । सिन्धुपाल्चोकमा हालै भएको ठूलो मानवीय क्षतिसहितको यात्रुवाहक बस दुर्घटना सडकको कारण नभएको भन्ने प्रारम्भिक कुरा आएको पनि उनले स्पष्ट पारे । उनले भने,‘त्यो दुर्घटना राम्रो स्टेरिङ नकाटिएको प्रमुख कारण मानिएको छ, यद्धपी के कारणले दुर्घटना भएको भन्ने कुरामा बास्तविकता आउन बाँकी नै छ । अहिले अनुशन्धान भैरहेको छ ।’

सडक दुर्घटना रोकथामको लागि सबैले आफ्नो कमजोरीलाई आत्मासात गर्नुपर्ने र व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए । देशभरि १६ प्रतिशतमात्रै समथर भूभाग रहेको र बाँकी भूभाग उच्च पहाडी र हिमाली भू–भाग रहेको पनि उले सुनाए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले पछिल्लो समय भएका ठूला दुर्घटनामा ठूलो मानवीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् । अगामी दिनमा त्यस्ताखाले दुर्घटना हुन नदिन आफूहरुको प्रमुख प्रयास हुने पनि उनले विश्वास दिलाए ।
ढकालले काठमाडौं उपत्यकाको ट्राफिक अवस्थाबारे जानकारी गराउँदै अहिले उपत्यकामा १२–१३ सवारीसाधन रहेको सुनाए । उनले भने,‘दुई वर्ष अघिको डाटा हेर्दा काठमाडमाडौं उपत्यकामा दुई हजार १४ किलोमिटर सडक छ, हाम्रो जनशक्ति १३ सय ६८ छ । एउटा ट्राफिकको भागमा ९०० सय सवारी पर्छ ।’

उनले काठमाडौं उपत्यकामा ट्राफिक जाम हुनुका प्रमुख कारणहरुपनि खुलाए । उनकाअनुसार काठमाडौंमा हुने दैनिक ४–५ -याली र जुलुशका कारणपनि सवारी आवागमनमा समस्या भैरहेको छ । उनले भने,‘खाल्डाखुल्डीको कारणपनि केही डिस्टर्ब भैरहेको छ । अर्को कुरा, पूराना सवारीसाधहरु सडकको बिचमा बिग्रिँदा र्याकर लगाएर वा हामीले धकेल्नुपर्ने अवस्था छ, त्यसले पनि आवागमनमा असर पुगिरहेको छ ।’ उनले काठमाडौंका केही स्थानहरुमा धेरै सडक व्यस्तता र चापका कारण पनि जाम हुने गरेको सुनाए । ती ठाउँहरु कोटेश्वर र चावहिल रहेका छन् । उनले भने,‘बोटल नेकका कारण समस्या छ ।’ दुःखद् दुर्घटना नहोस भनेर आफूहरुले दैनिक प्रयास गरिरहेको पनि ढकालले सुनाए । उनले भने,‘अहिले हामीले ट्राफिक सचेतना अभियान सञ्चालन गरेका छौं ।’

ढकालले पछिल्लो समय ईनफोर्समेन्टअन्तर्गत दैनिक २ हजार सवारीसाधनलाई कारबाही गरिने गरिएको पनि सुनाए । उनले भने,‘यो कुरा ट्राफिक एक्लैले गर्ने कुरा होईन । सबैले कानूनको पालना गर्नुपर्छ । हामी सरोकारवाला निकायसँग समन्वय गरेर नै अघि बढिरहेका छौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटनाप्रति चिन्ता गर्दै दुःख व्यक्त गरेको सुनाउँदै प्रधानमन्त्री कार्यालयअन्तर्गत गठन गरिएको समितिले विशेष योजना बनाएर काम गर्ने विश्वास दिलाए । उनले भने,‘अर्को क्विक एक्शन टिम पनि छ, त्यसमा पनि हामी सबै सरोकारवाला निकाय सहभागी छौं ।’आफूहरुले सचेतनाको लागि विविध कार्यक्रम सञ्चालन गरेको सुनाउँदै ढकालले भने,‘यो बीचमा हामीले स्वयमसेवकहरु प्नि परिचालन गर्यौं । पहिलो र दोस्रो चरणको अभियान सफल रुपमा सम्पन्न भयो, अब तेस्रो चरणको अभियान पनि छिट्टै सुरु गर्दैछौं ।’ हिजोबाट ट्राफिक उज्यालो कार्यक्रमपनि सुरु गरिएको उनले जनाए । आगामी तीन महिनाभित्र कम्तिमा पनि एक लाखलाई सचेतना गराईने उनको भनाई छ ।

काठमाडौं उपत्यकामा दुर्घटना कम गर्नको लागि ट्रिपरहरुलाई दिउँसो चक्रपथभित्र छिर्न नदिएको सुनाए । त्यतिमात्रै नभएर ‘हिट एण्ड रन’ को समस्या भएकोले त्यसमा पनि ध्यान दिईएको पनि उनले सुनाए । उनले भने,‘ट्रिपरमा पनि हामीले देखिनेगरि नम्बर प्लेट राख्ने व्यवस्था गरेका छौं । अहिले मिररको पनि व्यवस्था गरेका छौं ।’

हालै साँखुमा भएको दुर्घटना प्रहरीले रोक्दा रोक्दैपनि भएको उनले सुनाए । उनले भने,‘प्रहरीले छतमा यात्रु हाल्न रोकेको थियो। तर, अलिक पर पुगेर उनीहरु पूनः छतमा चढ्दा दुर्घटना भयो ।’ अहिले आफूहरुले यात्रुबाहक बसको छतमा हुट हाल्न नदिने निर्णय गरिएको पनि उनले स्पष्ट पारे ।
तिव्र गतिमा सवारी चलाउनेलाई पनि आफूहरुले दैनिक ठूलो संख्यामा कारबाही गरिएको उनले स्पष्ट पारे । उनले भने,‘लामो दुरीमा जाने सवारीलाई पनि नाघढुंगामा चेकजाँच गरिने गरिएको छ । चालक परिवर्तन नगरे कारबाही गर्ने गरेका छौं । सबै प्रयास हुँदाहुँदैपनि यदाकदा दुर्घटना हुने गरेको छ । यो दुःखद हो । सबैले आफ्नो ठाउँबाट प्रयास र प्रयत्न हुनुपर्छ ।’

उनले दुर्घटनामा पनि मानवीय क्षति, गम्भिर घाईते, सामान्य घाईते र सवारी साधनमा दुर्घटना पर्ने गरेको सुनाए । उनले भने,‘सबै दुर्घटनालाई एउटै टोकरीमा हाल्न मिल्दैन् । मानवीय क्षतिसहितको दुर्घटनामा अहिले कमी भएको छ । हाम्रो विशेष फोकसपनि यसमा बढि छ ।’
उनले दुर्घटना ह्वात्तै बढ्यो भनेर बाहिर चर्चा भएको सुनाउँदै विगतमा भन्दा अहिले दुर्घटना धेरै नभएको जिकिर गरे । उनले भने,‘२०७५–७६ मा नेपालभरि दुर्घटनामा निधन हुने संख्या २ हजार ७ सय ८९ रहेको छ, यो आर्थिक वर्षको साउनदेखि यता अहिलेसम्म ९ सय २१ छ, यो ६ महिनाको डाटा हो । त्यसकारण दुर्घटनाको रेट बढेको छैन् । हामी त एक जनाले पनि दुर्घटनाका कारण ज्यान गुमाउन नपरोस भन्छौं ।’

गत साल काठमाडौं उपत्यकामा २ सय ५६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको र यो आर्थिक वर्षको ६ महिनामा ७६ जनाले ज्यान गुमाएको ढकालले आँकडा पेश गरे । उनले भने,‘गत सालको चौमासिकमा १ सय ५ जनाले ज्यान गुमाउनुपरेको थियो । यो वर्षको चौमासिकमा ४९ जनाले ज्यान गुमाएका छन् । अहिले आधाभन्दा पनि कम भएको छ । हाम्रो प्रयास मानवीय क्षति नहोस भन्ने नै हो ।’

उनले दुर्घटना निम्तिन नदिनको लागि सबै चनाखो हुनुपर्नेमा जोड दिए । उनले भने,‘ड्राईभरले ओभर स्पिड गरे यात्रुहरुले रोक्नुपर्छ । मापसे गरेको छ भनेपनि प्रहरीलाई खबर गर्नुपर्छ । यात्रुहरु पनि सचेत हुनुपर्छ ।’ रिजर्भ गाडीमा यात्रा गर्दापनि विशेष ध्यान दिनुपर्ने उनको जोड थियो । उनले भने,‘रिजर्भमा जाँदा सडक नौलो हुन्छ, चालकले पनि विशेष ध्यान दिनुपर्छ । गति सिमित गर्नुपर्छ । चालकलाई पनि पूर्ण आरामको जरुरुी छ । चार–चार घण्टामा आराम गर्नुपर्छ ।’
ढकालले दुर्घटना कम गर्नको लागि ट्राफिक प्रहरीहरु दैनिक १८ घण्टा खटिरहेको पनि स्पष्ट पारे । उनले आम नागरिकमा सचेतनाको आवश्यक रहेको सुनाए । उनले थपे,‘अहिलेपनि धेरैले लाईसेन्स लिएका छन् । तर, नियम उल्लंघन गर्छन् । ट्राफिक नियम मान्नेपनि छन्, कोही मान्दैनन् । बहादुरी देखाउनको लागि यस्तो गरिएको छ । सबैले ट्राफिक नियम मान्ने हो भने ५० प्रतिशत सुधार हुन्छ ।’

स्थानीय सरकारले पनि आफ्नो अधिकारलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने,‘कानूनले दिएको अधिकार सदुपयोग गर्नुपर्छ । वडास्तरीय बाटोमा ध्यान दिनुपर्छ । अस्ति अर्घाखाँचीमा भएको दुर्घटना मोड नपुगेर भएको देखिएको छ ।’ सवारी दुर्घटना नहोस नै भनेर प्रहरीको डिप्लोईमेन्ट वैज्ञानिकअनुसार गरिएको उनको भनाई छ । उनले भने,‘राजमार्गको छेउमा प्रहरी कार्यालयहरु राखिएका छन् । त्यही अनुसार ट्राफिक कार्यालय राखिएका छन् ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासोले आफूहरु खुशी भएको स्पष्ट पारे । उनले भने,‘पहिलो पटक प्रधानमन्त्रीले यातायातको क्षेत्रमा ध्यान दिनुभयो । यो खुशीको कुरा हो ।’
विभागीय मन्त्रालयको प्राथमिकीकरणमा यातायात नपरेको उनको गुनासो छ ।

उनले भने,‘त्यही भएर दुर्घटना भएको छ । अहिलेसम्म सडक दुर्घटनाको बारेमा सरकारले कुनै अन्तरक्रिया गरेको छैन् । अहिले जुन ढंगले यातायात चलिरहेको छ । यो त जय पशुपतिनाथको तवरले चलेको छ ।’ उनले देशभरि ८४ हजार सडक रहेको आंकडा सुनाउँदै त्यसमा पनि १४ हजार सडक पिच रहेको सुनाए । ‘१४ हजार र ८४ हजारको बीचका सडकहरु बिना ईन्जिनियर बनाईएका छन् । सडकहरु अवैज्ञानिक छन् ।’

सिटौलाले सडक दुर्घटना न्यूनीकरणको लागि सबै निकाय जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘त्यसमा पनि सरकारको भूमिका मुख्य हुन्छ । उ जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । अहिले नेपालको यातायात क्षेत्रमा दश खर्बको लगानी छ । यो लगानी बचाउने जिम्मेवारी सरकारको हो ।’

उनले चिकित्सक उत्पादन गर्न राज्यले एकजनालाई एक करोडसम्म लगानी गरेको तर चालक उत्पादन गर्नको लागि खोई लगानी ? भनेर प्रश्नसमेत तेर्साए । उनले भने,‘एउटा चिकित्सले गल्ती गर्दा एक जनाको ज्यान जान्छ, तर, एउटा चालकले गल्ती गर्दा ४०–५० जनाको ज्यान जान्छ ।’ अहिलेसम्म चालक उत्पादन गर्न सरकारले लगानी नगरेकोमा उनले गुनासो पोखे ।
उनले आफूहरु ठूलो पीडामा रहेको पनि दुःखेसो पोखे ।

उनले भने,‘काठमाडौंका कोरिडोर सडकहरु किन बनेका छैनन्, यी कोरिडोरका सडक बन्दा काठमाडौंमा जाम कम हुन्छ ।’ प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्र नक्कली भएकाहरुलाई नविकरण गर्न नदिने भनेर दिएको निर्देशन पनि जायज रहेको उनको भनाई छ । उनले भने,‘माथिल्लो तहबाट राम्रो निर्देशन हुन्छ। तर, कार्यान्वयन गर्ने निकायले ध्यान दिँदैनन् । यो दुःखद् पक्ष हो । अब कार्यान्वयनमा ध्यान जाओस् ।’ उनले स्मार्ट–लाईसेन्सको पनि हालत के छ ? भन्दै प्रश्न गरे ।

उनले स्मार्ट लाईसेन्सको नाममा ट्रायल पास भएकाहरुले तत्काल लाईसेन्स दिनुपर्ने बताए । उनले महासंघले यातायात क्षेत्रको सुधारको लागि अग्रगामी रुपमा ईनिसिएसन लिएको सुनाए । तर, आफूहरुको प्रयत्नले केही पनि हुनेवाला नभएको पनि उनले स्पष्ट पारे ।
उनले भने,‘सडक दुर्घटनामा प्रहरीको कुनै दोष छैन् । सरकारले वैज्ञानिक गाडी आयातको नीति बनाउनुपर्छ । बाटो र सडकको अवस्था हेरेर गाडी आयातको नीति लिनुपर्छ । कुन सडकमा कस्तो खालका सवारी चलाउनुपर्छ भनेर पनि ध्यान दिनुपर्छ ।’ उनले सवारी चेकजाँच काठमाडौंमा मात्रै नभएर ७७ वटै जिल्लामा गरिनुपर्ने माग गरे । उनले भने,‘अहिले काठमाडौंको टेकु पुल नजिककै रहेको फिटनेश सेन्टर, जहाँ सरकारले एक अर्ब लगानी गरेको छ । यो त संग्राहलयको रुपमा परिचित हुने अवस्था छ ।’

सिन्धुपाल्चोकमा भएको दुर्घटनामा चालकको पनि निधन भएको सुनाउँदै सिटौलाले भने,‘त्यो दुर्घटनामा चालकको पनि निधन भयो । जो २१ वर्षदेखि गाडी चलाउँदै आउनुभएको थियो । उहाँ त स्वरोजगार हुनुहुन्थ्यो, आफैं गाडी मालिक र आफैं चालक हुनुहुन्थ्यो । उहाँले पटक पटक यात्रूहरुलाई उत्रिनको लागि भन्नुभएको थियो भन्ने कुरा आएको छ ।’

नेपालमा हेलिकप्टर दुर्घटना हुँदा छानबिन आयोग गठन हुने गरेको तर, सवारी साधन (बस) दुर्घटना हुँदा त्यस्तो नगरिएकोमा उनले गुनासो पोखे । उनले भने,‘अहिले प्रधानमन्त्रीले जाँचबुझको लागि निर्देशन दिनुभएको छ । यति सानो कुरापनि प्रधानमन्त्रीले भन्नुपर्ने अनि अरुले के गर्ने हो ? तल्लो तहमा बस्ने कर्मचारीबाट काम भएको छैन् ।’ उनले कर्मचारीहरुले राजनीतिक गर्न नहुने भन्दै काम गर्न सुझाव दिए ।

उनले पछिल्लो समय भएका ठूला दुर्घटनाप्रति दुःख व्यक्त गरे । उनले भने,‘यद्धपी अहिले दुर्घटना कम भएको छ । महासंघ दुर्घटना कम र न्यूनीकरणको लागि प्रयास गरिरहेको छ । अहिलेपनि चालकको अभाव छ । यातायातमा व्यवस्थापन र लगानी बचाउनको लागि सरकारले पहलकदमी लिओस् ।’

अहिले आएको वीमा नीति पनि अक्षरंश लागु हुनुपर्ने उनको जोड छ । उनले भने,‘अहिले हेर्नुहोस यातायात क्षेत्रमा लगानी ह्वात्तै घटेको छ । यो विषयमा हाम्रो मन्त्रालयले डिबेट गर्ने कि नगर्ने ? अहिले काठमाडौं उपत्यकाका कोरिडोर कार्यान्वयनमा आए कामठमाडौंमा हुने जाम ५० प्रतिशत कम हुन्छ ।’



Comment from facebook



थप खबर पढ्नुहोस्
कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु

२०७७ कार्तिक २० गते बिहिबार

११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...

समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह

२०२६ पुष १७ गते बिहिबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...

धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते

२०२६ पुष १७ गते बिहिबार

२१ जुन, २०१९ धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप...

काठमाडौं उपत्यकामा ६ सहित एकैदिन कोरोनाका ६ सय ७१ नयाँ संक्रमित थपिए काठमाडौं उपत्यकामा ६ सहित एकैदिन कोरोनाका ६ सय ७१ नयाँ संक्रमित थपिए

२०२६ पुष १७ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनासहित पछिल्लो...

Top