बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार


–अर्चना लामिछाने
शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा । डुम्रेबजारबाट उकालिने तरखर गर्दा केही अलमल भएथ्यो । स्थानीय सडकमा गुड्ने बसहरू चलेनन् बेलामा । यात्रुहरू कोचाकोच नभै नचल्ने चलन रहेछ जस्तो लाग्यो । पोखराबाट हतारिँदै डुम्रे आइपुगेको हाम्रो टोलीलाई बन्दीपुरमा कहिले पुगौँलाझैँ भइरहेको थियो । बन्दीपुर घुमेर आनन्द लिने रहर मनको पत्रपत्रमा थियो । बिहानभरि पोखरा घुमेर दिउँसो डुम्रे आइपुगेका हामीलाई बन्दीपुर अघाउञ्जेल घुम्नु थियो । बन्दीपुरको सुन्दरतामा हराउनु थियो ।

बन्दीपुरमा एक रात बस्नु पनि थियो । पोखराबाट मध्यान्हमा डुम्रे पुग्दा दुईतीन वटा स्थानीय बसहरू बन्दीपुर जाने पालोमा थिए । हामी पुग्नासाथ बसवालाहरूले सम्मानपूर्वक सोधे –‘ कहाँ बन्दीपुर जाने हो ? ल बस्नुस्, गइहाल्छ अब दशपन्ध्र मिनेटमा । ’ यति भन्न भ्याउँदा नभ्याउँदै हाम्रो झोला समातेर छततिर राख्न थालिहाले । जाला त नि भन्ने सोचेर हामी सबै बसमा चढ्यौँ ।
बसभित्र त के बसिसक्नु र ! धोक्रो, डोका, आलुप्याजका बोरा । मान्छे खचाखच । असार महिनाको गर्मी । एकैछिनमा उकुसमुकुस हुँदा शरीर खल्खलाउन थाल्यो पसिनाले । भनेको समय पन्ध्र मिनेट सकिँदा पनि बस चलेन ।

पसिनाले शरीर नुहाएको जस्तै भएको छ । तर, बस चल्ने कुनै सङ्केत नै छैन । मान्छेहरू कराउन थाले –‘लौ न भरिइसक्यो , किन नचलाएको हो । ’ पाँचसात मिनेट कराएपछि बल्ल ड्राइभर बसमा चढेर ‘ढरढर ढरर्र…..’ गरेर बस चलाउन थाले ।
समयको दवाव र यात्रीको करकापले गर्दा बस गुड्यो । डुम्रे बजारबाट बस विस्तारै उकालियो माथिमाथि । कस्तो रमाइलो । हरियालीले भरिएको पाखापखेरा । जतिजति माथि गयो उतिउति चिसो हावा चल्न थाल्यो । गर्मीले गर्दा गुम्सिएको शरीरले अमृत पाएसरह भयो त्यो चिसो हावा । उकालिँदै जाँदा माथि डाँडाको छेउमा देखिन थाल्यो सुन्दर वस्ती ।
‘उ…देखियो बन्दीपुर बजार । ’ हामी बन्दीपुर हेर्न आएको थाहा पाएका एक जना स्थानीय मान्छेले हामीलाई देखाए खुसी हुँदै । तपाईँहरूको गन्तव्य । बन्दीपुर नजिकिँदै जाँदा मनमा उत्साह चुलिँदै गयो । बन्दीपुर पुग्नेबित्तिकै वरपर नियाल्न मन आतुर भयो । परम्परागत शैलीमा बनेका घरहरूले पहिलो दृश्यमानै लोभ्याइहाले । बेलुकाको वासको बन्दोवस्त गरेर एकैछिन थकाइ मारियो ।

तस्वीर : अर्चना लामिछाने

बन्दीपुर साँच्चिकै सुन्दर रहेछ । आँखाका नानी जस्तो ,सानो चुटुक्क परेको । हरियालीले भरिएको । वरपर हेर्न जाँदा एउटा बोर्डमा लेखेर टाँसेको देखियो– ‘पहाडकाी रानी बन्दीपुर ।’ साँच्चै रानीझै आकर्षक र सुन्दर छ बन्दीपुर । हरियो वनको फेदीमा फैलिएको वस्ती । हामीले पेटपूजा गरेर मात्र घुम्ने विचार ग¥यौँ । एउटा होटेलमा खाजाको अर्डर गरेर बन्दीपुरकै बारेमा गफ गर्दा पसलका साहुजीले हामीलाई बन्दीपुरको सङ्क्षिप्त इतिहास पनि सुनाए । खाजा खानु त छँदै छ । एउटै पैसामा बन्दीपुरको ऐतिहासिक जानकारी पनि पाइयो ।

यो बस्ती पहिले तनहुँ जिल्लाको सदरमुकाम रहेछ । पछि यसलाई सारेर दमौली झारिको रहेछ ।
बन्दीपुरमा पहिलेपहिले मगरहरूको बस्ती रहेछ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई हराएपछि यहाँका केही नेवारहरू बन्दीपुरतिर पुगेछन् । व्यापारको सिलसिलामा उनीहरू यतै बसेपछि बन्दीपुरमा नेवारहरूको वसोवास थालनी भएको रहेछ । उनीहरूले नै बन्दीपुरलाई व्यापारिक केन्द्र बनाएका रहेछन् ।

व्यापारको सिलसिलामा यो ठाउँ पहाडीक्षेत्रको उत्कृष्ठ व्यापारिक केन्द्र बनेको रहेछ । चीन र भारत बीचमा व्यापार गर्ने केन्द्रको रूपमा पनि यो ठाउँ विकसित भएको रहेछ । काठमाडौँ उपत्यकाबाट आएका नेवारहरूले आफूहरू सँगै ल्याएका कला र संस्कृति आज पनि बन्दीपुरलाई चिनाउने बस्तुका रूपमा रहिरहेकोमा उनी अति नै गौरवान्वित थिए । बन्दीपुरमा आजसम्म बाँचिरहेको त्यही परम्परागत संस्कार र सम्पदालाई हेर्न पर्यटकहरूको भीड लाग्ने कुरा उनी हाँसीहाँसी सुनाइरहेका थिए । हामी खाजा आउने आशामा मुख मिठ्याउँदै उनका कुरा सुनिरह्यौँ ।

मलाई लाग्यो यसरी आफ्नो ठाउँको ऐतिहासिक तथ्य पाहुनाहरूलाई बुझाउन सक्ने मानिस जहाँ पायो त्यहीँ किन हुन्थे र ! धन्य बन्दीपुर, सन्तानहरू चाहिँ इमान्दार रहेछन् जन्मभूमिप्रति ।
बन्दीपुरमा आधुनिकताको प्रभाव धेरै कम छ । परम्परागत शैलीका घरहरूले बजारलाई सजाएका छन् । घरहरूको बार्दलीमा मकैका झुत्ताहरू झुण्डिइरहेको देख्न पाइन्छ । खुर्सानीका मालाहरू रातै झुण्डिएका छन् घरघरमा । घरहरू अग्ला छैनन् ।

नयाँ बनाइएका घरहरू पनि बजारक्षेत्रमा परम्परालाई जोगाउने गरी बनाइएको छ । बजारक्षेत्रका कतै फोहोरका टुक्रासम्म छैन्न् । सरसफाइमा बन्दीपुर धेरै गम्भीर बनेर लागिरहँदो रहेछ मन्यो मेरो मनले ।
खाजा खाइयो जिब्रो पट्काउँदै । पिरोको बढाइँ । बाटैमा रहेछ ‘पद्म पुस्तकालय ।’ राणाकालमै बनेको रहेछ । त्यति बेला पनि बन्दीपुरमा पुस्तकालयको व्यवस्था भएबाट यो ठाउँ शिक्षामा अगाडि थियो भन्ने अनुमान गर्न सकिन्छ । बाहिरबाटै सर्सर्ती हेरेर हामी तीनधारातिर गयौं । बजारबाट पूर्वतिर । ‘तीनधारा कति पर छ ?’ बजारमा सोद्धा थाहा भयो पन्ध्र मिनेट रहेछ विन्ध्यवासिनी मन्दिरबाट ।

तीनधारा जाने बाटो सफा छ । फराकिलो पनि । घरहरू लोभै लाग्दा छन् । हरियालीले सुन्दरता झनै थपेको छ । बेलुकीपखको घाम लागेको छ । बाटाका छेउछेउमा थरीथरीका फूलहरू फुलेका छन् । केहीबेर हिँडेपछि बाटो ओरालो आयो । बहिनीहरू क्यामरामा फोटो उतार्न तल्लीन छन् । म यताउता हेरेर अघाएको छैन ।
आइपुग्यो वरपीपलको चौतारी । पुरानो थियो चौतारी । भत्कनै थालेको । बाटो हिँड्ने वटुवाहरू पहिले जस्तो बाक्लो नभएपछि चौताराको संरक्षणमा कसको ध्यान जाओस् । धन्न, यहाँ यतिसम्म त बाँचेको रहेछ भन्यो मेरो मनले । वरपीपलको रुखहरू लोभ्याउने थिए अझैसम्म । कति वटुवालाई शीतल तपाएर विदा ग¥यो होला त्यो चौतारीले ।
चौतारीको वरपीपलले हामीलाई पनि चिसो हावाले स्वागत ग-यो । हामीले एक फेक्सो स्वच्छ हावा भरेर बाहिर फाल्यौँ । फुर्तिलो भयो शरीर । नजिकै धारा रहेछन् । तर, नाम तीनधारा भए पनि पाँचवटा रहेछन् ढुङ्गेधाराहरू । नाम अनुसारका धारा देखिएनन् । असार महिनामा पनि धाराहरू आफ्नो अस्तित्व बल्लबल्ल बचाएर रहेका रहेछन् तिरतिरे पानी । ुनहाइधुवाइ गर्ने केटाकेटी र तिनका आमाहरूको भीड रहेछ ।

तीनधारामा अञ्जुली थापेर पानी घुड्क्याउन मन लाग्यो । बल्लबल्ल धाएर पुगेको ठाउँ । पानी चिसो । आँतै शीतल पा-यो । नजिकै रहेछ वटुवाहरूले पहिलेपहिले वास बस्ने पाटी । पाटी कस्तो हुन्छ भनेर वास्तवमा राम्ररी बन्दीपुरकै तीनधारामा देख्न पाइयो । भ्रमणबाट धेरै नयाँ कुराको ज्ञान पाइन्छ भन्थे । त्यो देखेपछि मेरो मनले पनि हो रहेछ भनेर पूरा विश्वास ग¥यो ।
फर्किँदा बाटैभरि देखिए स्कुलका विद्यार्थीहरू । पिठ्युँमा झोला बोकेर रमाउँदै फर्किरहेका । मैले आफ्नो स्कुले जीवन सम्झेँ । त्यसरी वेलुका स्कुल छुट्टी भएर फर्कँदा कम्ता रमाइलो हुँदैनथ्यो । दिनभरिको पढाइको बोझबाट मुक्त हुन पाएको अवस्था । केही बेरमा थाहा भयो नजिकै रहेछ नोट्रे डेम स्कुल । बन्दीपुरमा शिक्षाको ज्योति चम्काउन यसको विशेष भूमिका रहेछ । बन्दीपुरको शिक्षाको दियो रहेछ नोट्रे डेम स्कुल । नोट्रे डेमकै विद्यार्थीहरू रहेछन् हामीले भेटेका ।

पहाडको काखमा यति सुन्दर शहर पहिलोपटक देखिरहेको छु मैले । बाटोघाटोमा त्यत्तिकै सफाइ छ । आकाशमा बादलका टुक्राहरू छन् । हेर्दै रहर लाग्दा । छिनछिनमा अनेक आकारमा परिणत हुन्छन् । यस्तै वातावरणमा रमाउँदै खड्गदेवी मन्दिर पुगियो । पूर्वपट्टि केही माथि डाँडामा । बन्दीपुरवासीहरूको आस्थाकी देवी । खड्ग अर्थात् तरवारकी देवी । उन्नाइसौं शताव्दीतिरका पाल्पाली राजा मुकुन्दसेनले भाग्ने क्रममा यहाँ तरवार छाडेका थिए रे । भगवान शिवले उनलाई उपहार दिएको त्यो तरवारलाई त्यहीँ मनिदर बनाएर पूजा गर्न थालिएको कुरा नजिकै चौतारामा बसेका एकजना वृद्धले सुनाए । विशाल चौतारो छ पीपलको । नजिकै बन्दीपुर गाउँपालिकको कार्यालय । अत्यन्तै सुन्दर ठाउँमा ।

टुँडिखेलबाट उत्तर हेर्दा देखिन्छन् बादलसँग लुकामारी खेल्दै गरेका हिमालहरू । धौलागिरि, अन्नपूर्ण मनास्लु हिमालहरू । धितनमरुञ्जेल हेर्न पाइएको छैन बादलले गर्दा । उत्तरी हावाको झोँकाले चिसो थपिरहेको छ । घाम विस्तारै ओर्लिदै छन् क्षितिजतिर ।
अझै हेर्नु छ धेरै ठाउँ । सिल्कफार्म गएकै छैन । छिटोछिटो गर्नु छ । बाटामा गफिँदै फर्कँदा देखिए धेरै जना विदेशी पर्यटकहरू । उनीहरू पनि बन्दीपुरलाई नजिकबाट सुम्सुम्याइरहेका छन् हामीले जसरी । स्वदेशीेदेखि विदेशीसम्मलाई आकर्षण गर्न सक्ने कुरा भनेको परम्परागत स्ंस्कार र संस्कृति त हो नि । प्राकृतिक सुन्दरता र शान्तपनले सुनमा सुगन्ध थपेको हो ।
सिल्कफार्मलाई सर्सर्ती हेरेर हामीले थानी डाँडालाई गन्तव्य बनायौँ बेलुकीपख । दिउँसो होटलमा झोला राख्दा नै भनेका थिए होटेलका साहुले बेलुकीपख मात्र जानुहोला थानी डाँडा – बजारको सुन्दरता नियाल्न । सल्लाको सुसेली सुन्न र सूर्यास्त हेर्न । हामीले त्यही सल्लाह मान्यौँ ।
बजारको पश्चिमपट्टि छ भानु माध्यमिक विद्यालय । यसकै छेउबाट थानी डाँडा चढ्ने बाटो छ । ठाडै उकालो । साँघुरो बाटो । भीरमा समाई समाइ हिँड्नु पर्ने । काठमाडौँमा भिरालो बाटो हिँडेको वानी छैन ।

बल्लबल्ल चढियो उकालो । ठाउँठाउँमा थकाइ मार्दै । साँच्चै सल्लाघारीमा हावा चल्दा आउने सुसेली आवाज मैले थानीडाँडा उक्लिँदा बन्दीपुरमा अनुभव गर्न पाएँ । जति माथि गयो उति सुन्दर देखिएका छन् घरहरू । घामका किरणहरू विस्तारै पहेँलिन थालेका छन् ।
हावाको वेगमा कपालको गुजुल्टो फुकाएर फरर पार्दै हामी दिदीबहिनीले मन हलुङ्गो बनायौँ । बाबा भने निकै माथि पुगिसक्नुभएको छ । हामीलाई छिटो गर्न सङ्केत गर्दै । गोडा बटारिँदै छन् । सूर्यास्तको दृश्य हेर्नै छ बन्दीपुरको डाँडाबाट । हामीसँगै तल बजारमा देखेका विदेशीहरू पनि आइपुगे मिसिन । उनीहरूको हिँडाइ डरलाग्दो छ । हामीले कसरी भेट्टाउन सक्नू ।
क्यामराको लेन्सले पनि झर्को मान्यो होला । जता जे देखे पनि तेस्र्याएर फोटो खिच्ने हाम्रो भोक सकिएको थिएन । घरहरू देखे त्यसकै , हिमाल देखे त्यसकै , चराको हुल देखिए त्यतै तेस्र्यायो । खिचिक्क खिचिहाल्यो । त्यसरी शरीरमा थकाइ र मनमा आनन्द बटुल्दै थानीडाँडा पुग्दा घाम पश्चिम क्षितिज माथि पुग्न लागेका रहेछन् । लाग्यो हामीलाई पर्खेर बसेका हुन् ।

बन्दीपुरको ‘भ्यु प्वाइन्ट’का रूपमा चिनिने यहाँबाट जता हेर पनि सुन्दर दृश्य छ आँखाभरि । हामी पुगेको केहीबेरमा घाम विस्तारै सुलुलु हिँडेको चिप्ले कीराझैँ क्षितिज मुनि गए । हामीले हातले समाएझैँ फोटो खिच्यौँ । अस्तउँदो सूर्यलाई नमस्कार ग¥यौँ । घाम अस्ताएपछि थानीडाँडामा हावाको साम्राज्यको अनुभव हुन थाल्यो । दिनभरिको हिँडाको थकाइ बल्ल बौरिँदै आयो । गोडा काँपेको अनुभव हुन थाल्यो ।

दिनभरि हिँडेर पसिनैपसिना भएको शरीर चिसिँदै छ । भोक पनि विस्तारै जाग्दै छ ।
‘अब त झर्नुपर्छ बन्दीपुर बजार ।’ बहिनीहरू कराउन थाले । माथि डाँडामै बस्न त समय हुनु प¥यो नि ! उत्तरतिरबाट छिन भरमै कालो बादल लिएर आयो हावा । पानी मिसिएको बादल । प्रकृतिको जादू । एकैछिन अगाडिको सुन्दर र घमाइलो मौसम फेरियो । पानी पिरपिराएर हामीलाई भिजायो अलिअलि ।

‘हेर्नु भो त सनसेट भ्यु ?’ बन्दीपुर कौसी इनका साहुजीले सोधे । भिजेकै शरीर भए पनि हाम्रो मुहारको खुसी देखेर उनी पनि रमाए । आफ्नो ठाउँमा आएका पाहुनाको अनुहारमा खुसी देख्न पाउनु खुसीकै कुरो हो नि ।
साँझको पिरपिरे पानीमा शीतलताको अनुभव गर्दै हामी मीठो खानाको प्रतीक्षामा बसिरह्यौँ । आजको रात बन्दीपुरमा बिताएर भोलि विहान त जानु छ मनकामना देवीको दर्शन गर्न गोरखातिर । मनले आजैदेखि मनकामना देवीलाई सम्झिरह्यो । हृदयले ढोगिरह्यो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
पुनः बैवाहिक जीवनमा बाधिँदै नायिका श्वेता खड्का पुनः बैवाहिक जीवनमा बाधिँदै नायिका श्वेता खड्का

२०७६ माघ २९ गते बुधबार

०२ डिसेम्बर, २०२०काठमाडौं । विवाह गरेको केही समयपछि नै...

दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो

२०७७ बैशाख २४ गते बुधबार

०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका...

राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध ! राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !

२०८० जेठ २० गते शनिबार

०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित...

पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ

२०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...

Top