पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


१८ अक्टोबर, २०१९
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन् । उनी पूर्व माओवादीका नेता समेत हुन् ।


बिहीबार काठमाडौंमा गरिएको कार्यक्रममा नेता शर्माले आलोपालोको कुरा उठेपनि अहिले त्यो सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘अहिले सरकारले धमाधम परीणाम दिन थालेको छ । सरकारलाई अस्थिर बनाउने काम कोही कतैबाट हुनुहुँदैन् । वर्तमान प्रधानमन्त्री ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो । यसमा कुनै द्धिविधा छैन् ।’ नेता शर्माले मन्त्रिमण्डल पूनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भएको जनाए । तर, कहिले पूनर्गठन गर्ने वा नगर्ने भन्ने सम्पूर्ण निश्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकोले अहिले नै केही भन्न नसकिने पनि शर्माको स्पष्टोक्ति छ । उनले भने,‘मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने सोचाई हाम्रा शीर्ष नेताहरुमा आएको छ । तर, यसको निर्णय त प्रधानमन्त्रीज्यूले गर्ने हो ।

कहिले हुन्छ मलाई थाहा छैन् ।’ नेता शर्माले संघीय संसदको सभामुख पद रिक्त रहेकोले छिटोभन्दा छिटो सभामुख निर्वाचित गर्ने पनि जनाए । नेकपाले सभामुखमा दाबी गर्ने पनि उनले जनाए । उनले भने,‘संविधानमा भएको व्यवस्थाबमोजिम हामी सभामुख र उपसभामुखको निर्वाचन गर्छौं । यो ठूलो विवाद र समस्याको विषय होईन् । सकेसम्म निर्वाचन नहोस भन्ने हाम्रो चाहना छ । सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिकै प्रयत्न गर्नुपर्छ ।’
पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण शानदार रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् । ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो, यो हामी सबैको लागि सुखद कुरा हो । उहाँको भ्रमण शानदार रुपमा सफल भएको र उपलब्धिमूलक रहेको छ।’–उनले थपे ।


सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमणको क्रममा सरकारले परिपक्व कुटनीति र व्यवहार प्रस्तुत गरेको पनि भन्दै उनले सरकारलाई बधाई दिए । उनले भने,‘सरकारले उच्चस्तरीय भ्रमणको लागि परिपक्व व्यवहार देखायो, यो खुशीको कुरा हो । यस प्रकारका उच्चस्रतीय भ्रमण गराउन नेपाल सरकार सक्षम छ भन्ने सन्देश प्रवाह भएको छ ।’ शर्माले नेपालको विकास र समृद्धिमा चीनले सुरुदेखि नै सहयोग र टेवा पुर्याउँदै आएको पनि सम्झिए । चीनको निःशर्त अनुदानमा नेपालमा भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता कारखाना सञ्चालन भएपनि पछि यसलाई बेचेको पनि उनले सुनाए । उनले भने,‘हामीले चीनको सहयोगलाई सदुपयोग गर्न सकेनौं भन्नेबारे अहिले प्रश्न उठेको छ । चीनले नेपालमा निर्वाध रुपमा लगानी गर्न चाहेको पनि उनले सुनाए ।


यद्धपी चीनले पनि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएझैं भारत, नेपाल र चीनबीचको त्रिपक्षीय साझेदारीमा जोड दिएको उनको भनाई छ । उनले भने,‘नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले पनि यो कुरा दोहोर्याउनुभएको छ । चिनियाँ पक्ष अहिले नेपालमा नेपाल–चीन संयुक्त लगानीमा अघि बढ्न चाहन्छ ।’
नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले नेपालको जलविद्युतको विकासमा पनि भारत, चीन र नेपालको लगानी हुनुपर्ने कुरा उठाएको शर्माले जानकारी दिए । उनले नेपालको हितमा भारत र चीन दुवै देशको सहयोग रहँदै आएकोले आगामी दिनमा पनि यही किसिमको सहयात्रा जारी राख्नुपर्ने र समझदारी कायम गर्नुपर्नेमा जोड दिए ।
शर्माले वर्तमान सरकार गठन भएपनि यसले अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो र सुदढ बनाएको दाबी गरे । उनले भने,‘सरकारले अन्तर्राष्ट्रियस्तरमा विश्वासको वातावरण बनाएको छ । पछिल्लो समय नेपालमा उच्चस्तरीय भ्रमणहरु आदानप्रदान हुन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभएको छ ।

यो ठूलो उपलब्धि हो ।’ पछिल्लो समय नेपाल–भारत र नेपाल–चीनबीच भएका द्धिपक्षीय सम्झौताहरु पनि समयसिमाभित्रै कार्यान्वयनतर्फ अघि बढिरहेको उनले उदाहरण पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा गरेको पेट्रोलियम पाईपलाईनको सम्झौता शिलान्यास गरेको र तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएको भन्दै सम्झौता कार्यान्वयनमा देखिएको तत्परताको शर्माले प्रशंसा गरे ।
नेपालले केही समयपछि विद्युत बढि भएर बेच्नुपर्ने अवस्था आउन लागेको सुनाउँदै उनले यसको लागि तयारी गरिरहेको पनि बताए । अन्तरदेशीय प्रशारण लाईनमा जोड्नको लागि पनि सहज हुने बताउँदै बढि भएको विद्युत बंगलादेशलाई बेच्नेपनि सरकारको तयारी रहेको शर्माको भनाई छ ।


उनले भने,‘कुन मोडालिटीमा बेच्ने भन्नेबारे कुराकानी भैरहेको छ ।’ त्यस्तै, उनले भारतीय कम्पनीद्धारा निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजनाको कामपनि अहिले सन्तोषजनक रुपमा अघि बढेकोमा खुशी व्यक्त गरे । उनले भने,‘अहिले २५ प्रतिशत काम सम्पन्न भएको खबर आएको छ, यो खुशीको कुरा हो । भारतीय कम्पनीले नेपालमा तदारुकताका साथ काम अघि बढाईरहेका छन् ।’ शर्माले नेपालमा लगानी गर्न भारतीय कम्पनीहरु निकै ईच्छुक रहेको बताए । सरकारको तर्फबाट भारत र चीनसँगमात्रै नभएर अरु देशसँगपनि सम्बन्ध सुमधुर र माथि उठाउने काम भएको उनको विश्वास छ ।


वर्तमान सरकारले धेरै राम्रो र सन्तोषजनक काम गरिरहेको शर्माको दाबी छ । सरकारले अघिल्लो सरकारले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरुलाई पनि प्राथमिकताका साथ अघि बढाएको र समयमै काम सम्पन्न गर्नतर्फ ने सरकार बढि केन्द्रित रहेको उनले स्पष्ट पारे । यातायात क्षेत्रमा धेरै सुधार भएको उनको दाबी छ । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कामपनि हिजोकै सरकारले अघि बढाएको काम भएको र यसलाई वर्तमान सरकारले निरन्तरता दिएको उल्लेख गर्दै शर्माले अघिल्लो सरकारले अघि बढाएको काम सरकारले बेवास्ता गरेको छ भन्न नमिल्ने तर्क गरे ।


उनले नेपालमा रेलमार्गको कुरा गर्दा हाँसोको विषय बनाईएपनि पनि यो आवश्यकत्ता भएको बताए । सरकारले पूर्व–पश्चिम रेलमार्गको लागि द्रुत गतिमा काम अघि बढाईरहेको बताउँदै सडकमार्गका कामपनि त्यही गतिमा भैरहेको उनले स्पष्ट पारे । सरकारले राम्रो गर्ने प्रयत्न गरेको भन्दै सुशासनको क्षेत्रमा पनि त्यही अनुभुति हुनेगरि काम भएको उनको दाबी छ । शर्माले १२ वर्षअघिका अपराधिक कर्म गर्नेहरु अहिले धमाधम कानुनको कठघरामा उभिएको उदाहरण पेश गरे ।
सत्ताको आडमा अपराध कर्म र भ्रष्टाचार गरेपनि ५० वर्षपछि पनि दोषी कारवाहीको दायरामा आउने उनको विश्वास छ । उनले भने,‘अपराध गर्नेलाई माफी दिनुहुँदैन् । दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ प्रतिपक्षीले पनि सरकारका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भनेर खबरदारी गर्नुपर्ने उनको सुझाव छ ।


प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताए । उनले भने,‘अहिले सभामुख पद रिक्त छ, नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको छ । हाम्रो पार्टी सभापतिले शेरबहादुर देउवाले भनेजस्तै हामी सभामुखमा उम्मेद्धवारी दिन्छौं ।’
नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताए । उनले भने,‘उहाँको भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएका छन् । यो महत्वपूर्ण कुरा हो । तर, सहमति भएरमात्रै हुँदैन, कार्यान्वयन पक्षलाई पनि कडाईका साथ अघि बढाउनुपर्छ ।’


उनले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएपनि दौत्य सम्बन्ध स्थापना भएपछि पनि तीन वटा चिनियाँ राष्ट्रपति र ५ जना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको र सो अवधिमा धेरै सन्धि तथा सम्झौता भएको स्मरण गराए । तर, ती सम्झौताहरु कार्यान्वयन नभएको उनको गुनसो छ । नेपालका विभिन्न महत्वपूर्ण परियोजनामा काम गर्ने चिनियाँ ठेकेदारले कमजोरी देखाएको पनि उनले टिप्पणी गरे । उनले भने,‘मेलम्ची खानेपानी परियोजनामा पनि चिनियाँहरुले काम गरेकै हो, मध्य भोटेकोशीमा पनि चिनियाँ पक्षले काम गरेका छन् । तर, परिस्थिति हामीले सोचेभन्दा फरक छन् । हामीले त कार्यान्यवन पक्ष हेर्नुपर्छ ।’ कुन–कुन परियोजना कसरी अघि बढाउने भन्नेबारे सरकारले प्राथमिकीकरण गर्नुपर्ने उनको जोड छ ।


बस्नेतले नेपालले सडक सञ्जाललाई बढि प्राथमिकता दिनुपर्ने बताए । उनले भने,‘नेपालमा रेल बहुचर्चाको विषय बनाईयो । प्रधानमन्त्रीले त यसलाई प्रतिष्ठाको विषय नै बनाउनेगरि भाषणबाजी गर्नुभयो । अहिले चिनियाँ राष्ट्रपति आउँदा यसको सर्वेसम्म गर्ने कुरा उठेको छ । रेलबारे मेरो भनाई के हो भने यो धेरै खर्चिलो परियोजना हो । यसको लागि चार खर्बको हाराहारीमा पैसा लाग्छ ।’
उनले चीनसँगका नाकाहरु खोल्नतर्फ ध्यान दिन सरकारलाई सुझाव दिए । उनले तातोपानी नाका लामो समयदेखि बन्द रहेको सुनाउँदै अहिलेपनि मुखले खोलिएको भनिएपनि व्यवहारिक रुपमा बन्द नै रहेको दाबी गरे । त्यस्तै, उनले आफ्नो पार्टी सरकारकामा हुँदाखेरि अघि बढाईएको काठमाडौं–खाँडीचौरसम्मको अरनीको राजमार्गलाई चार लेखनको बनाउने कुरा अहिलेको सरकारले प्राथमिकताका साथ अघि नबढाएकोमा पनि गुनासो पोखे । उनले भने,‘यसमा हामीले चीनसँग सहमति गरेका थियौं । यसको लागि लाग्ने २४ अर्ब लागत चीनको एक्जिम बैंकले लगानी गर्ने कुरा भएको थियो ।’
बस्नेतले ऋण लिएर रेलमार्ग निर्माण गर्न नहुने तर्क गरे । उनले भने,‘चिनियाँ ऋण लिने देशहरुको आज के हबिगत छ ? यो कुरा हामीले हेर्नुपर्छ । श्रीलंका, केन्या, अफ्रिकी देशहरुको हालत हेर्नुस त, ऋण तिर्न नसकेर चीनले लिजमा त्यहाँको कुरा लिएको छ ।’ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हाईड्रोको बारेमा आन्तरिक तयारी राम्रो नभएको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारले राम्रो मौकाको सदुपयोग गर्न सकेन् । यो गलत कुरा हो ।’
चिनियाँ राष्ट्रपतिले नेपाललाई भुजडित हुने कुरा गर्नु महत्वपूर्ण भएको बताउँदै यसको लागि उनले चिनियाँ सरकारलाई र राष्ट्रपति सीलाई विशेष धन्यवाद व्यक्त गरे ।
नेता बस्नेतले सरकार कति सफल वा कति असफल भनेर आफूहरुले भन्नुभन्दापनि नेकपाकै प्रभावशाली नेताहरुले यसबारेमा बोलिसकेको बताउँदै सरकार असफल भएको आरोप लगाए । उनले भने,‘भीम रावलको भनाई हेर्दापनि थाहा हुन्छ, यो सरकार सफल कि असफल भनेर ।

उनले विकास र परराष्ट्र सम्बन्धको कुरा गर्दा नेकपाकै नेताहरु नेपाल र रावलको अभिव्यक्तिबाट पनि सरकार असफल भएको पुष्टि भएको पनि दाबी गरे । दुई तिहाई बहुमतको सरकारले धेरै काम गर्नसक्ने अवसर र मौका भएपनि यसलाई सदुपयोग गर्न नसकेको उनको टिप्पणी छ । उनले भने,‘सरकारले सहमति र एकताको कुरा मुखले गरेपनि व्यवहारमा त्यस्तो देखिएन, स्वयम सरकारको नेतृत्व गरेको व्यक्ति, यो देशको अभिभावकले कार्यकर्तालाई अरिंगाल बनेर जाईलाग भन्नुहुन्छ ।’
उनले सरकारले आफ्नो अनुकुलमा विद्येयकहरु ल्याउन खोजेपनि आफ्नो पार्टीले त्यसको सशक्त प्रतिकार गरेकोले फिर्ता भएको पनि उदाहरण पेश गरे । उनले भने,‘तपाईहरुले हेरिहाल्नुभयो सरकारले मिडिया काउन्सिल विद्येयक कस्तो ल्याउन खोजेको थियो ? भनेर, सुरक्षा परिषदको अधिकार प्रधानमन्त्रीले आफूमा केन्द्रित गर्नुभएको छ । आर्थिक अवस्था त्यस्तै छ । अहिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन हेर्दा थाहा हुन्छ बेरुजुको भोल्युम कति ठूलो छ भनेर । आर्थिक अनुशासन छैन् ।’ उनले वर्तमान सरकार आन्तरिक र बाहृय दुवैतर्फ असफल भएको दाबी गरे ।
उनले सरकारले जनतालाई निराश बनाएको बताउँदै ओढे कुरा र उखान टुक्काले देश नचल्ने भन्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्य कसे । उनले भने,‘देशभित्र हामी एक भयौं भने कसैले पनि यहाँ खेल्न सक्दैन् । तर, हामीले अनै अरुलाई खेल्न दिने काम गरिरहेका छौं ।’ उनले राष्ट्रपति विद्यादेवीको म्यानमार भ्रमणको उद्देश्य के हो ? यसले देशलाई के फाईदा हुन्छ ? भन्दै प्रश्नसमेत तेर्साए । त्यस्तै, उनले प्रधानमन्त्रीको विभिन्न देशमा भएका भ्रमणको उपलब्धि के हो त ? भन्दै प्रश्न गरे ।



Comment from facebook



थप खबर पढ्नुहोस्
महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...

अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार

२०२६ पुष १७ गते बिहिबार

२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका...

मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने

२०८० बैशाख २० गते बुधबार

०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न...

सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

२०२६ पुष १७ गते बिहिबार

१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...

Top