काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


–बन्दना सापकोटा
देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । जुन ठाउँमा वर्षेनी लाखौं विदेशी तथा स्वदेशी पर्यटकहरु आउँछन् । यहाँका पशुपतिनाथ, स्वयंभू, बसन्तपुर, हनुमानढोका, भक्तपुर तथा ललितपुर दरबार क्षेत्र, चाँगुनारायण, बौद्धलगायतका धार्मिक तथा पर्यटकीय स्थल देश विदेशका पर्यटकको बीच चर्चाको शिखरमा रहेको छ । तर देशको राजधानी काठमाडौंमै रहेर प्रसस्त सम्भावना बोकेको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो कागेश्वरी । काठमाडौँको उत्तरपुर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा कागेश्वरी महादेवको मन्दिर छ ।

हालको कागेश्वरी मनहरा नगरपालिका वडा नं. १ गागलफेदीमा अवस्थित महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको बारेमा उपत्यकामै बस्ने धेरैलाई थाहा नहुन सक्छ । धार्मिक हिसाबले मात्र नभई पर्यटकीय र पुरातात्विक महत्वको यो ठाउँ अहिले विस्तारै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीमा यो मन्दिरमा भब्य मेला लाग्ने गर्दछ । तिर्थस्थलमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक मान्यता छ ।

भक्तजनहरु मन्दिरमा पुजा गर्दा तथा पोखरीमा नुहाउँदा पाप पखालिने र मुक्ति प्राप्त हुने ठान्दछन । आफ्नो खेतबारीमा फलेको मकै यहाँ ल्याएर चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने जनविश्वास समेत छ । मन्दिरमा लाग्ने मेला भर्नका लागि काठमाडौं, भक्तपुर, ललितपुर मात्र नभएर देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गर्नेहरु कागेश्वरी पुग्ने गर्दछन् । हिन्दुधर्मावलम्बी मात्रै होइन कागेश्वरी मेला भर्ने बौद्ध धर्माबलम्बीहरुको संख्या पनि बाक्लै छ ।

जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहाँबाट जल ल्याउने र कागे अष्टमीका दिन कागेश्वरी महादेवलाई सो जल चढाएर ब्रत विर्सजन गर्ने प्रचलन रहि आएको छ । यो स्थानमा पहिले सुनको काग भए पनि त्यो हराएर अहिले पित्तलको काग राखिएको छ । यस मन्दिरको प्राचिन र ऐतिहासिक महत्व रहे पनि योजनाबद्ध विकास र प्रचार प्रसारमा राज्यको ध्यान नपुग्दा गुमनाम जस्तै छ । यस स्थानमा कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा विभिन्न किम्बदन्ती रहेका छन । सत्ययुगमा सतिदेवीको अंग पतन भएर यहां एक शिवलिंग उत्पन्न भएको भनाइ स्वस्थानी ब्रतकथामा उल्लेखित छ ।

प्राचीनकालको एक किम्बदन्तीअनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र र पार्वती महादेवलाई खोज्न निस्कँदा यही स्थानमा आएपछि कागले सूचना दिएको र कागकै सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरिएको स्थानीय बताउँछन् । लिच्छविकाल अगाडि यो ढुङ्गामा आएर एउटा गाईले दैनिकरुपमा दूध थुनबाट सिधै चढाउन थाल्यो । अर्को गाईले कागेश्वरी वरपर दूध चढाउँथ्यो, त्यो दूध कागले ल्याएर ठूलो ढुङ्गामा चढाउन थालेपछि यो देवस्थल हो भनी कागेश्वर महादेवको स्थापना गरिएको थियो भन्ने कथन पनि छ । यमराजका दूत कागबाट यस मन्दिरको नाम कागेश्वरी हुन पुगेका हो भन्ने भनाई समेत छ ।

बौद्ध धर्मावलम्बीले भने कागेश्वरी महादेवलाई गुरु मानी झाँक्री बन्न चाहने नयाँ शिष्यलाई कागे अष्टमीका दिन कागेश्वरी महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेका छन । यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । प्राकृतिक मनमोहक दृश्यसंगै शास्त्रीय नृत्यमा ढ्याङ्ग्रो बजाई नाचगान गर्ने दृश्य झनै मनमोहक हुन्छ । ढ्याङ्ग्रो बजाई महादेवको पुजा गर्नेमा लामा, तामाङ जातिको विशेष सहभागिता रहन्छ । साथै स्थानिय नेवार जातिले लाखे नाचको आयोजना गर्दछन ।

धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिरको संरक्षणका लागि सरकारले उचित सहयोग गरी दिनुपर्ने स्थानीय बासिन्दाको माग छ । यसको संरक्षणका लागि कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान सुरु गरिएको छ । समग्र कागेश्वरीको एकिकृत गुरुयोजना निर्माण गरी यसलाई विकास गर्ने र पर्यटनका मार्फत स्थानीय जनताको आर्थिक क्षमताको विकास गर्ने लक्ष्य लिइएको छ । सिङ्गै कागेश्वरी भेगको पर्यटन विकासकै उद्धेश्यले गागलमा लोकतान्त्रिक सहिद उद्यान निर्माण गरिएको छ । सो स्थानमा अष्ठधातुको कागको प्रतिमा निर्माण गरिने सोच बनाइएको छ ।

अघिल्लो वर्षदेखि पहिलो क्रान्ति दिवसको संझनामा यस क्षेत्रको पर्यटकीय विकासको संभावनालाई उजागर गर्ने उद्धेश्यले हरेक वर्ष फागुन ७ गते कागेश्वरी पर्यटन महोत्सवको आयोजना गर्न थालिएको छ । स्थानीय जनताले यसलाई नियमित रुपमा मनाउने उद्घोष गरेका छन । कासी, पशुपति, गोकर्ण, शिबपुरी, कागेश्वरी, बज्रयोगिनी, रामजानकी तथा नबतनधाम जस्ता ऐतिहासिक र धार्मिक स्थललाई समेटेर अन्तर्राष्ट्रिय पशुपति परिपथ निर्माण गर्न सके रोजगारी सिर्जना, पर्यटकीय विकास, नेपालको प्रचारप्रसार र आर्थिक समृद्धिमा ठुलो योगदान पुग्ने भएकाले यसको निर्माणमा राज्यलाई उचित ध्यान दिनु आवश्यक देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु

२०७७ श्रावण १८ गते आइतबार

०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...

अन्तर्राष्ट्रीय  उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय  उडान नहुने अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...

परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ

२०७६ मंशिर २३ गते सोमबार

पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका...

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...

Top