एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार


पि.एल. तरंग / बेस्टखबर

सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी देवताको वर्षैभरी त्यही मन्दिरमा पुजा आजा हुने चलन छ । अनि ती मन्दिरहरुमा बर्षेनी भक्तजनहरु पुगेर तिनै देवी देवताको पुजाआजा समेत गर्ने गर्दछन् । तर धादिङ्गको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ४ (साविकको सल्यानकोट गाविस वडा नम्बर ५) मा अवस्थित त्रिपुरासुन्दरी भगवती एक यस्ती भगवती हुन् जुन भगवतीलाई वर्षमा ३ फरक फरक मन्दिरमा लगेर पुजा आजा गरिन्छ ।

त्रिपुरासुन्दरी भगवतीको गाउँमा रहेको पश्चिम थुम्काको मन्दिर । तस्वीर : बेस्टखबर डटकम

भगवतीको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ को पूर्वी थुम्कोमा भगवतीको एउटा मन्दिर छ । सो मन्दिरलाई दशैंघर भन्ने गरिन्छ । कतिपयले सो मन्दिरलाई भगवतीको मामाघरको रुपमा समेत हेर्ने गर्दछन् । अर्को मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ कै पश्चिम थुम्कोमा छ । यो मन्दिर भगवतीको मूल मन्दिर हो । यो मन्दिरमा वर्षको अधिकांश समय भगवतीलाई राखेर पुजा आराधाना गरिन्छ ।

त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिरमा सवारी चलाईँदाका केही दृष्यहरु । तस्वीर : Hi Himalaya Nepal

अर्को मन्दिर त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ७ (साविकको आगिन्चोक गाविसको वडा नम्बर १ स्थित गणेस्थान नजिकै) को बेसीमा छ । । जुन मन्दिरमा भगवतीलाई मंसीरदेखि चैत्रसम्म राखिन्छ ।
ग्रामीण क्षेत्रमा एउटी विवाहित महिलाले एक वर्षमा आफ्नो घर, माइती र मामाघर गएर बस्ने चलनसँग भगवतीको यी तीनवटा मन्दिर बसाईलाई जोडेर हेर्ने गरिएको छ ।

त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिरमा सवारी चलाईँदाका केही दृष्यहरु । तस्वीर : Hi Himalaya Nepal Ptv. LTD.

जस अनुसार गाउँघरमा मंसीर पुसमा खेतीबाली भि-याएपछि फुर्सत हुने भएकोले महिलाहरु आफ्नो माइतीमा गएर लामो समय बस्ने गर्दछन् । यही परम्परम्परालाई भगवतीको बेसीको मन्दीर बसाईसँग जोडिएर हेरिएको छ ।

यस्तैचैत्र देखि कात्तिक मंसीरसम्म घर गाउँमा कामको चटारो हुने भएकोले ती महिला आफ्नै कर्मघरमा व्यस्त हुने गर्दछिन् । भगवतीको मूल मन्दिर (पश्चिम थुम्कोमा अवस्थित मन्दिर) को बसाईलाई यसैसँग जोडिएर हेरिन्छ ।

त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिरमा सवारी चलाईँदाका केही दृष्यहरु । तस्वीर : Hi Himalaya Ptv. LTD.

यस्तै दशैंमा मामाघर जाने हामो घर गाउँमा चलेको परम्परालाई भवतीको दशैंघर त्रिपुरासुन्दरी गाउँपालिकाकाको वडा नम्बर ४ मा रहेको पूर्वी थुम्कोको मन्दिर) को बसाईलाई जोडेर हेरिन्छ । दशैंघरमा भगवतीलाई हरेक वर्षको दशैंको घटस्थापनादेखि चतुदर्शीसम्म राखिन्छ । यस्तै चैत्रास्टमीमा पनि भगवतीलाई यही राखेर पुजा आराधना गरिन्छ । भगवती यो मन्दिरमा रहँदा विशेष गरी दशैंको नवमी, र चतुदर्शीमा पञ्चबली लगाउने प्रचलन रहेको छ । पञ्चबलीमा राँगो, भेडो, बोको, हाँसको फूल र कुपिन्डो पर्दछन् । पछिल्लो समयमा मन्दिरमा साकाहारी बली (काँक्रो, घिराउँलो, कुपिण्डोलगायतका ५ वटा भेट्नुसहितका फलफूल) चलाउने प्रचलन पनि बढेको छ ।
भगवतीलाई मंसीरदेखि चैत्रसम्म बेसीको (आगिन्चोक गाविस वडा नम्बर १ मा रहेको) मन्दिरमा राखिन्छ ।

यो मन्दिरमा भगवतीलाई सवारी चलाउने साइत दशैंको भाईटीकाको दिन हेरिन्छ भने त्यसको सार्वजनिकीकरण तिहारको भाईटिकाको दिन गरिन्छ । अनि चैत्र महिनाको विशेष दिन पारेर भगवतीलाई पुन: गाउँकै मन्दिरमा ल्याईन्छ ।

त्रिपुरासुन्दरी भगवतीको गाउँमा रहेको पूर्वी थुम्काको मन्दिर । तस्वीर : बेस्टखबर डटकम

भगवतीको उत्पत्तिका बारे
धादिङ्गकी त्रिपुरासुन्दरी भगवतीको उत्पत्तीको बारेमा विभिन्न खालेको किंबदन्ती भेटिन्छ ।
श्रीस्वस्थानीमा उल्लेख भए अनुसार : यज्ञकुण्डमा हामफालेकी सतिदेवीको मृत शरीर बोकेर भगवान शिवले पृथ्वीलोक भ्रमण गर्दा शतीदेवीको कण्ड्डौलो पतन भएको उल्लेख छ ।
स्थानीय बयोबृद्धहरुका अनुसार : स्थानीय अहिले मन्दिरका पुजारी रानामगर थरका पिता पूर्खालाई सपनामा भगवतीले आफू अनकन्टार पहरमा रहेको र आफूलाई घरमा राखेर पुजा गर्नको लागि आग्रह गरे अनुसार रानामगर थरका स्थानीयले अहिलेको दशैंघर रहेको मन्दिरको तल भिरबाट भगवतीको स्वरुपलाई बोकेर घरमा लगेर पुजा गरेका र पछि भगवतीले नै मन्दिर बनाएर पुजा गर्नको लागि आग्रह गरेबमोजिम मन्दिरमा राखेर पुजा गरिएको उल्लेख छ ।

त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिरमा सवारी चलाईँदाका केही दृष्यहरु । तस्वीर : Hi Himalaya Ptv. LTD.


नुवाकोट आक्रमणमा निस्केका राष्ट्र निर्माता पृथ्वीनारयाण शाह नुवाकोट आक्रममा जाने क्रममा गोर्खाबाट आउँदा यही स्थानमा बास परेको र सपनामा एउटी बालिकाले हातमा खड्गसहित विजयी हुने बरदान दिएको कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ । अनि पछि नुवाकोट आक्रमणपछि पृथ्वीनारायण शाहले भगवती शक्तिशाली भएको भन्दै विशेष पुजा आजाको व्यवस्था गरिदिएको प्रसंग पनि दिव्योपदेशमा उल्लेख छ ।

विगतमा भगवतीको मन्दिर भगवतीकै इच्छा अनुसार (सपनामा भगवतीले पुरानै घर शैलीको मन्दिर बनाउन भनेको) घरको शैलीमा बनाएको भएपनि केही वर्षअघि मात्रै भगवतीको मन्दिरलाई प्यागोडा शैलीको बनाउन शुरु गरिएको छ । जस अनुसार पूर्वी कोट र बेसीको मन्दिर भने प्यागोडा शैलीकै बनाई सकिएको छ ।

त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिरमा सवारी चलाईँदाका केही दृष्यहरु । तस्वीर : Hi Himalaya Ptv. LTD.

भगवतीको मन्दिरमा रानामगर थरका मूलपुजारी र तिमिल्सिना र सापकोटा पुरोहितको रुपमा कार्यरत छन् । भगवतीको स्वरुप कस्तो हुन्छ भन्ने विषयमा मूल पुजारी र पुरोहित बाहेक अरु कसैलाई थाहा हुँदैन । उनीहरुले पनि अरु कसैलाई भन्दिनँ भनेर कमस खाएका हुन्छन् ।
भगवतीको मन्दिरमा पनि स्थानीय यिनीहरुबाहेक अरुले प्रवेश गरेर पुजा आजा गर्न पाउँदैनन् ।
भगवतीको लागि ४ सय २२ मुरी जमिन गुठीको रुपमा रहेको छ ।

भगवतीको स्वरुप कस्तो हुन्छ भन्ने विषयमा मूल पुजारी र पुरोहित बाहेक अरु कसैलाई थाहा हुँदैन । उनीहरुले पनि अरु कसैलाई भन्दिनँ भनेर कमस खाएका हुन्छन् । भगवतीको मन्दिरमा पनि स्थानीय यिनीहरुबाहेक अरुले प्रवेश गरेर पुजा आजा गर्न पाउँदैनन् ।

भगवतीको मंसीर महिनामा हुने बेसीको मन्दिरको जात्रा लाग्नुअघिल्लो दिन गाउँको मूल मन्दिरमा विशेष पुजा आजा हुन्छ र भोलिपल्ट बिहानै भगवतीलाई विशेष बाजागाजा र जयजयकारसहित बेसीको मन्दिरमा पु-याईन्छ । यो जात्रा हेर्न हजारौं भक्तजन भेला भएका हुन्छन् बेसीको मन्दिरमा ।

त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिर । तस्वीर : Hi Himalaya Ptv. LTD.

काठमाडौंबाट करिब १ सय ३० किलोमिटर पश्चिममा अवस्थित यो मन्दिर स्थानीयबासीन्दाको लागि निक्कै आस्था र विश्वासको मन्दिर बनेको छ । तर पनि उचित प्रचार प्रसारका कारण यो मन्दिर अझै पनि ओझेलमा परेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...

माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता

२०२६ पुष १७ गते बिहिबार

–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...

Top