हामीलाई घरमै भेटेर फर्कियो कोरोना *

Best Khabar Team | २०७६ पुष २४ गते बिहिबार


–शिव लामिछाने
सन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले विश्वलाई हल्लाउन थाल्यो । चीनको वुहानबाट निस्किएको यो भाइरसले चीनका डाक्टरकै निधन भएपछि अन्यत्र झन् त्रास फैलायो । विशेष गरी सुरुका दिनमा चिनियाँहरुले युट्युबमा राखेको भिडियोहरुले यो भाइरसको प्रभाव निकै भयावह हुने देखायो । नभन्दै यो युरोप र अमेरिकामा पनि आइपुग्यो ।

स्पेन, इटाली र बेलायतलाई निकै सताएको यस भाइरसले फ्रान्स र अरु युरोपेली मुलुकलाई पनि छाडेन । विश्वअर्थतन्त्रको मेरुदण्ड बनेको पर्यटन र आयातनिर्यात व्यापारलाई यसले ठप्प बनायो । मानिसहरु घरमै महिनौँ दिन बस्नुपर्ने र आयआर्जनका लागि जाने ठाउँ पनि बन्द भएपछि आम्दानीका स्रोतहरु सुके । विश्वभरिका मानिसहरुमा त्रास र निराशा फैलियो । यसले विकासोन्मुख र विकसित दुवै देशलाई नराम्ररी प्रभाव पा-यो ।

कोभिड १९ नाम दिइएको यस भाइरसको प्रभाव पहिलो पटक फरबरी २१ मा अमेरिकामा पनि परेको थाहा भयो । वासिङटनको एक व्यक्तिमा देखिएको रुघाखोकीको संक्रमणको जाँच भयो । र, उनलाई कोरोना भएको पुष्टि भयो । अमेरिका नागरिक स्वतन्त्रता भएको मुलुक हो । यहाँ व्यक्तिगत स्वतन्त्रता यति छ कि कसैलाई कोरोना वा कुनै रोग लागेमा वा अरु कुनै निजी घटना भएमा त्यसलाई गोप्य राख्न पाउने व्यक्तिको अधिकार हुन्छ । यसैले मानिसहरु रोग लागेर पनि बाहिर नभन्ने भए । विस्तारै भुसको आगोजस्तो गरी यो अमेरिकामा फैलन थाल्यो । न्युयोर्क, मेरिल्यान्ड, वासिङटन डी सी, भर्जिनिया सुरुका महिना यस भाइरसबाट निकै प्रभावित राज्यहरु हुन पुगे । न्युयोर्कले निकै कडा रुपमा यसको सामना गर्नुप-यो ।

पर्यटनका हिसाबले विश्वको मुटु मानिएको न्युयोर्कमा एकै दिनमा ८०० भन्दा बढीको निधन हुन पुग्याे । औषधि विज्ञान र स्वास्थ सुविधामा निकै अग्रपंक्तिमा रहेको अमेरिकाले विरामीका उपचारका लागि भेन्टिलेटरको आवश्यकतालाई समयमा पूर्ति गर्न सकेन । रोगको संक्रमणलाई रोक्न प्रयोग गरिने मास्क, पञ्जा र हात सफा गर्ने स्यानिटाइजरको आवश्यकतालाई अमेरिकाजस्तो मुलुकले केही महिना एक छेउ पनि पूरा गर्न सकेन । न्युयोर्कका स्वास्थ्यकर्मीहरुले एउटै मास्क दुईतीन दिन लगाउनुपरेको तीतो अनुभूति सार्वजनिक गरे । अमेरिकामा रहेका मोटर कारखानाले नियमित मोटर उत्पादन रोकिएको अवस्थामा अस्पतालमा चाहिने भेन्टिलेटर बनाउन थाले । मदिरा र वियर उत्पादन गर्ने कारखानाले स्यानिटाइजर बनाउन थाले ।

राज्य नै पिच्छेका नियम अमेरिकामा लागू भए । कुनै राज्यले पूर्णरुपमा घरबाहिर जान बन्देज लगाए । न्युयोर्क निकै पीडित थियो । यसले नागरिक आवागमनमा कडाइ ग-यो । संघीय सरकारले केन्द्रीय आदेश दिन सकेन । राज्यको निजी स्वतन्त्रतालाई केन्द्रले हस्तक्षेप गर्ने कुरा पनि भएन । तर राज्यहरुले कडाइ गर्न सकेनन् । अत्यावश्यक सुविधा भएका पसलहरु खोल्न र स्वास्थ्यसेवा पु-याउन आवश्यक जनशक्ति चाहिने हुँदा पसल, ग्याँस स्टेसन र स्वास्थ्य सेवा संस्थाहरु खुले । सर्वसाधारणले शारीरिक दुरी, मास्क, पञ्जा लगाउने जुन सार्वजनिक सचेतनाको सूचना थियो, त्यसको पालना त्यतिबेला पनि गरेनन् ।

कोरोनाको चपेटामा अमेरिका पिल्सिरहँदा केही अत्यास र अन्योलका बीच भर्जिनियामा हाम्रो परिवार बसिरहेको छ । हामी विगत ५ वर्षदेखि भर्जिनियामा बस्छौँ । गत वर्ष बुहारी अमेरिका आएपछि अहिले हामी पाँचजना छौँ । मेरी श्रीमती पार्वती, म, छोरी अभिज्ञा, छोरा अच्युत र बुहारी रचना पाँचैजना सार्वजनिक रुपमा बढी मानिसको अवागमन हुने ठाउँमा काम गथ्यौँ । अमेरिकामा पहिलो त मानिसहरु मास्क लगाउन नचाहने, चाहनेलाई पनि मास्कको व्यवस्था थिएन । त्यसैले अप्रिलको पहिलो हप्तातिर कोभिड १९ ले छपक्कै ढाकेको बेला मानिसहरु मास्क किन्न नपाउने अवस्थामा थिए । हामीले समयमै मास्कको व्यवस्था गर्न सकेका थिएनौँ । मेरी श्रीमतीले मास्क व्यवस्था गर्न भनिरहेकी थिइन् । अरुले जस्तै हामीले पनि ट्वाइलेट पेपर, पेपर टावल, खानेकुराको जोहो गर्न धेरै ध्यान दिन थाल्यौँ ।

अप्रिलको ८ मा पार्वतीलाई टाउको दुख्यो । अघिल्लो दिनमात्रै उनले उनको काम गर्ने ठाउँका चारपाँजनालाई विरामी परेर घर पठाएको भन्ने सुनाएकी थिइन् । उनी भने अप्रिल ७ मा काम सकेर समयमै घर आएकी थिइन् । उनलाई लिन आउने गाडीको ड्राइभरलाई मैले मेसेज पठाएर नआउनू भने । त्यसपछिको सोमबार उनी काममा गइन् । मंगलबार काममा गएकी उनलाई उनको सुपरीवेक्षकले शुक्रबार नआएको कारण स्वास्थ्यका कारण हो भने डाक्टरको सिफारिश लिएर मात्र काममा आउन भनेर हाजिरै नगराई फर्र्र्काएछ । उनी आएपछि एकदिन घरमै बस्ने निधो भयो ।

राज्य नै पिच्छेका नियम अमेरिकामा लागू भए । कुनै राज्यले पूर्णरुपमा घरबाहिर जान बन्देज लगाए । न्युयोर्क निकै पीडित थियो । यसले नागरिक आवागमनमा कडाइ ग-यो । संघीय सरकारले केन्द्रीय आदेश दिन सकेन । राज्यको निजी स्वतन्त्रतालाई केन्द्रले हस्तक्षेप गर्ने कुरा पनि भएन । तर राज्यहरुले कडाइ गर्न सकेनन् ।

उनमा रोगको कुनै लक्षण थिएन । मलाई भने हामीलाई पनि यसले भेट्यो कि भन्ने शंका भयो । दुई दिन बसेपछि तेस्रो दिन हामी उनका लागि चेकअपमा गयौँ । स्वास्थ्यकर्मीले पिसिआर जाँच गर्नका लागि पर्याप्त कीट्स नभएकाले रोगको लक्षण नभए किन पैसा फाल्नु भनेर केही भएको छैन भनेर सिफारिश बनाइदिए । उनी त्यही लिएर भोलिपल्ट काममा गइन् । काम नियमित भयो । यसैबीच अभिज्ञाले काम गर्ने ठाउँमा पनि काम घटिसकेको थियो र उनलाई पछि बोलाउने गरी कामबाट विदा दियो । बुहारी रचनाले काम गर्ने ठाउँ पनि अनिश्चित कालका लागि बन्द भयो । छोरा अच्युत र म काममा गइरह्यौँ । अप्रिल २३ पछि पार्वतीको अफिस पूरै बन्द भयो । उनी फेरि घरमा बस्ने भइन् ।

मे महिनाको २०/२१ मा हुनुपर्छ, पार्वतीले म कामबाट फर्केर घर पस्नेबित्तिकै भनिन्, “छोराको आँखा रातोरातो छ, अनुहार पनि तातो छ । काममा हिँडिरहेको छ । के गर्ने होला कोरोना ल्यायो कि के हो । यिनका बाबुछोराले कोरोना ल्याउने भए । आफूले जति जतन गरे पनि कोरोना यिनैले ल्याउने भए भनेर चिच्याइन् । उनको अफिसका केही मानिस अस्पताल भर्ना भएको र एक जना बंगाली कामदार मरेको रे भन्ने खबर उनलाई कसैले सुनाएछ । समस्या के थियो भने, कोभिड १९ को संक्रमितको सम्पर्कमा रहेको व्यक्तिलाई यसले भेट्यो भने दुई हप्ताभित्रमा यसले लक्षण देखाउन थाल्छ भन्ने आधारमा स्वास्थ्य विज्ञहरुले विश्वभरि नै दुई हप्ता एकान्तमा बस्ने घरबाट ननिस्कने र अरु सामान्य मानिसको सम्पर्कमा नजाने सल्लाह दिइरहेका थिए ।

पार्वतीले अच्युतलाई काममा नजाऊ भनेकी थिइन् । चीसो कोठामा राति धेरै बेर काम गर्नुपरेकाले ज्वरो आएका हुन सक्ने भनेर हामीलाई उनको अनुमान सुनाए । बेलुका थाहा भयो, अच्युतलाई दुई दिन ज्वरो आइसकेको रहेछ । उनले खासै केही भनेनन् । उनले काम छाडेका थिएनन् । उनले मे २४ मा भने कि उनले काम गर्ने ठाउँमा दुईजनालाई यसको संक्रमण भएकाले उनीहरू काममा आएका छैनन् । त्यसैले उनी काममा जानै पर्छ ।

मे २८ को बेलुका घर आउँदा त घरमा खुसी थियो, पार्वतीले भनिन्, “रचनाको रिपोर्ट आयो । अब ढुक्क भो ।” म पनि खुसी भएँ । भैगो नि त भनेँ । उनले भनिन्, के भैगो नि त ?
मैले भनेँ, कोरोना नभएपछि भैगो नि । उनले भनिन्, कोरोना भएर ढुक्क भो भनेकी मैले । कोरोना होला कि भनेर डराउनै परेन । भोलिदेखि काममा जानै परेन कसैलाई पनि ।
ए त्यसो पो । म पनि के भनू के भनूँ भएँ । बुधवारको दिन थियो । भोलिपल्ट काम गर्ने ठाउँमा धेरै काम गर्नुपर्ने थियो । जाऊँ भने बूढाबूढी मानिसहरुसित भेट भइरहन्छ । घरमै रोग लागेका मानिससित सम्पर्क भइरहेको छ, एकै भान्सा, उही लिभिङ रुम, उही सोफा, उही खाने भाँडा । नजाऊँ भने अकस्मात म पनि नजाँदा अर्को काम गर्ने मानिस पनि विदामा छ । एक दिन चुप लागेर जाऊँ जस्तो पनि लाग्यो । धेरै कुरा खेलाउँदाखेलाउँदै मन थाक्यो । भएको कुरा लुकाएर यस्तो जोखिम अपनाउनु आफूलाई ढाँट्नु हो । योजस्तो अपराध अरु केही हुँदैन भनेर राति अबेर मेनेजरलाई फोन गरेँ । उसले अरु केही भनेन, भन्यो मात्र– “ओ ब्वाइ, ओके । टेक केयर अफ योर फ्यामिली, डन्ट ओरी आइविल मेनेज ।”
मे २९ देखि त पार्वती पनि अभिज्ञा पनि जीउ गल्यो भन्न थाले । दुवैको पूरै शरीर गल्न थाल्यो । टाउको चड्केर दुख्न थाल्यो । घरमा टायलानल र थर्मामिटरको व्यवस्था पहिल्यै भएको थियो । घर बस्ने, पकाउने, खाने, टिभीमा महाभारत र रामायण हेर्ने, हास्य श्रृंखला हेर्ने गर्न थालियो । रचना, पार्वती र अभिज्ञा निकै गले । बाहिर हिड्न नपाउने । नैतिक रुपमा बूढाबूढी मानिस भएको टोलमा बाहिर निस्केर हिड्नु पनि भएन ।

टोलमा लगातार तीन दिनसम्म एम्बुलेन्स आएर मानिसलाई लिएर गयो । घरहरु फरक थिए । अनुहार फरक थिए । म देखिरहेको थिएँ । हाम्रो घरमा यस्तो दिन नआओस् भनेर कामना गरेँ । रचनाको रिपोर्टमा कोभिड १९ को पजिटिभ आउनासाथ अच्युतलाई पनि जाँच्नका लागि डाक्टरले फोन गरे । उनको पनि दुई दिनपछि पजिटिभ आयो । अब झन् पक्का भयो हामी पनि कोभिडको संक्रमणमा फस्यौँ ।

पार्वतीले अच्युतलाई काममा नजाऊ भनेकी थिइन् । चीसो कोठामा राति धेरै बेर काम गर्नुपरेकाले ज्वरो आएका हुन सक्ने भनेर हामीलाई उनको अनुमान सुनाए । बेलुका थाहा भयो, अच्युतलाई दुई दिन ज्वरो आइसकेको रहेछ । उनले खासै केही भनेनन् । उनले काम छाडेका थिएनन् । उनले मे २४ मा भने कि उनले काम गर्ने ठाउँमा दुईजनालाई यसको संक्रमण भएकाले उनीहरू काममा आएका छैनन् । त्यसैले उनी काममा जानै पर्छ ।

विहानको खाजा, दिनको खाना, अपरान्हको खाजा र बेलुकीको खाना सँगै बसेर खायौँ । सुरुमै पार्वतीले भनेकी थिइन्, घरमा एकजनालाई संक्रमण भएपछि अरुले जोगिन्छु भनेर सकिँदैन । फेरि उनीहरुलाई भान्सामा नआऊ, त्यहाँ नबस, त्यसो नगर भनेर भनिँरहँदा झन् बिरामी पर्छन् । बरु हामी सबै सँगै बसेर हाँसीखुसी गरौँ । अलि बल आउँछ । छोरालाई संक्रमण हुनुभन्दा निकै अघिदेखि हामीले लसुन र बेसार राखेर पानी उमाली त्यसमा कागती निचोरेर पिउने गरिरहेका थियौँ । पार्वतीले आफूले सकेसम्म सबैलाई ख्वाइरहेकी थिइन् । म, पार्वती र अभिज्ञा भने बेलुका सुत्ने बेलामा पनि एक गिलाँस लसुन बेसार पानी पिइरहेका हुन्थ्यौँ । बाहिर जानु छैन, सास गनाउला छैन । घरमा सबै खाने । केको पिर । यस्तै कुरा गर्दै मजा लिएर पिइरहेका हुन्थ्यौँ ।

हामीले त्यसै ग-यौँ । मैले मे ३१ मा एउटा बालकथा लेखेँ । अभिज्ञालाई देखाएँ । हाम्रैँ भान्साकोठा अगाडिको रुखमा गुँड बनाएर बच्चा हुर्काएर लगेको चराको कथा थियो । उनले रुचाइन् । मैले उनलाई पनि एउटा साहित्यिक यात्राको सुरुआत हुन्छ भनेर अंग्रेजीमा अनुवाद गर्न भनेँ । उनले जुन १ मा अनुवाद गरिदिइ्न् । अरु काम थिएन । मेरो पनि त्यही कथामाथि चल्नुमात्र थियो । अच्युत र रचनाले खिचेका चराका गुँड, बच्चा, फूल आदिका चित्रहरु मागेँ । पेज सेटअप गरेँ । साथी शिव तिम्सिनासित कभर पेजको थिम दिएर फोटो मागेँ । जुन २ मा फोटो आयो र सोही दिन प्रकाशनका लागि एमाजनमा अपलोड गरेँ । जुन ६ मा त मेरो नयाँ कृति प्रकाशित पनि भयो ‘बर्डहाउस’ नाममा ।

पार्वती झन् थलिइन् । उनलाई खानको स्वाद हुन पूरै छाड्यो । चार डोज त पार्वतीले जीउ दुखेको कम गर्न र ज्वरो आएमा घटाउन सक्ने टायलनल खाइन । उनलाई राति सुतेका बेला तीन दिन अति नै पसिना आयो । बेलुका अबेर टोलका मानिस हिड्न छाडेपछि हामी मास्क लगाएर बाहिर निस्केर हिड्न थाल्यौँ । पार्वती र अभिज्ञा अलिकति हिँडे पनि स्वाँस्वाँ गर्न थाले । म भने घरमा एम्बुलेन्स बोलाउन नपरोस् भनेर कामना गरिरहेँ । पार्वतीले सकभर आफूलाई सक्रिय बनाएर घरको काम गर्न थालिन् । कपडा मिलाउने, घर सफा गर्ने, घरपछाडिको सानो बारीमा गएर तरकारी रोप्ने, खन्ने, उम्रेका विरुवाको हेरचाह गर्ने आदि । अभिज्ञा पनि भान्साको काममा लागिरहिन् ।

घरमा लक्षण नदेखिएको म थिएँ । पार्वती विरामी भइसक्दा पनि हामी एकै बिच्छौनामा सुत्यौँ । बीचमा मलाई अलिक सिँगान बग्ने हुन थालेपछि तीन रात म भुइँमा सुतेँ । हल्का टाउको दुख्ने, छातीको दाहिने भागमा कहिल्यै नभएको तरिकाले गह्रुँगो हुने जस्तो लक्षण मैले अनुभूत गरेँ । मलाई ज्वरो आएन । अभिज्ञा र पार्वतीलाई पटकपटक ज्वरो नाप्न भनिरहेँ । आफैँ साथमा रहेर हेरेँ । १०० काटेर माथि गएन ।

पार्वतीको तीनवटा सानाठूला अप्रेसन गरेको छ । मलाई पहिले उच्च रक्तचाप थियो र कहिलेकहिले यो अहिले पनि माथि जान्छ । त्यसमाथि सधैँ नाक बन्द हुने पिनासको रोगी म । उमेर पनि पचास पुग्न लागेको । सावधानी त अपनाउनै पर्ने हो । तर पार्वतीको कुराले मलाई पनि हाँसखेलबाटै यसलाई जित्न सकिन्छ भन्ने लाग्न थाल्यो । चिन्ता गरेर रोग प्रतिरोध क्षमता घटाउनुभन्दा खाइपिई हाँसेर बल जम्मा गर्नुले रोगविरुद्ध लड्न शक्ति जम्मा हुन्छ भन्ने लाग्यो ।
अर्को मुख्य कुरा हामीले पालैसित हरेक दिन तातोपानीको बाफ १०/१५ मिनेट लिने ग-यौँ । यो प्रक्रिया दिनको दुईपटक पनि भयो ।

जुन १४ पछि काममा जानुपर्ने अथवा रोगले छोयो भनेर प्रतिवेदन बुझाउनुपर्ने । अब भएन, भनेर जुन ११ मा म एक स्वास्थ्य क्लिनिकमा पिसिआर टेस्टका लागि गएँ । पैसा महङ्गै तिनुपर्ने । वालमार्ट सिभिएरहरुले निशुल्क सुविधा दिइरहेका थिए । एक हिसाबले हतार भएकाले मैले दुई सय डलर तिरेँ । भोलिपल्ट अभिज्ञा र पार्वतीलाई निःशुल्क जाँच गर्ने ठाउँमा लगेँ । तीन दिनमा हामी तीनै जनाको नतिजा नेगेटिभ आयो । अब हामी यस पटकलाई मुक्त भयौँ भन्ने भयो । पार्वती र अभिज्ञा अझै स्वाद नभएको र जीउ गलेको शिकाय गरिरहे । मलाई केही भएको थिएन । बाबु काममा फर्किसकेका थिए ।

यसरी कोभिड १९ घरमा भित्रियो । केही दुखाइ, केही शंका र केही चिन्ता तथा बढी हाँसखेल अनि सिर्जनात्मक कुरा सिकाएर निस्कियो । मेरो अनुभवमा मलाई एकै घरमा भएर पनि लक्षणहरु निकै कम देखिनुमा केही मेरा निजी कुरा यस्ता छन् भन्ने लाग्छ : यो सबैमा मिल्ला अनि मिल्नुपर्छ भन्ने केही छैन :


१. म हरेक विहान ५ बजेको समयमा व्यायाम, प्राणायाम र ध्यान गर्ने गर्छु ।
२. विगत २ वर्षदेखि म हरेक विहान १ दाना स्याउ खान्छु । अक्सर हप्तामा ४ कोसा केरा बिहानको बेला खाने गर्छु ।
३. मलाई ६ घन्टा सुत्न हप्तामा १ दिनमात्र जुर्छ । तर अरु दिन साढे चारदेखि ५ घन्टा सुत्ने भए पनि म अक्सर पूरै समय सुत्न पाउँछु । बीचमा बिउँझिने, निन्द्रा नपर्ने वा लामो सपना देखेर निन्द्रा बिथोलिने भन्ने मलाई विगत १० वर्षदेखि भएको छैन ।
४. म पानी राम्ररी पिउँछु । अक्सर ४ देखि ५ लिटर पानी म खानामा आउने पानी बाहेक नै पिउँछु ।
५. कामको प्रकृतिले पनि होला, म हरेक दिन औषत ५ किलोमिटर हिड्छु ।
६. कोरोनाको समाचारभन्दा अरु सिर्जनात्मक लेखरचनाहरू पढ्न, लेख्न मैले धेरै समय खर्च गरेँ। यस बीचमा मैले दुईवटा किताबहरूको भाषासम्पादन गरेँ । त्यो अवधिमा मैले चारवटा कविताहरू र तीनवटा लेखहरू लेखेर वेभपत्रिकामा छपाएँ ।

मेरो विचारमा सचेतनाको साटोमा त्रसित बनाउने सन्देश सामग्रीका कारण विरामीको संख्या बढेको छ र यसैले उनीहरुमा भय बढेर मृत्यु हुनेको संख्या अकल्पनीय भइरहेको छ । अस्पतालमा पुगेपछि त्यहाँको सेवाको अवस्था र साथमा रहेका विरामीको अवस्था तथा मृत्युका दृश्यले विरामीहरूको रोगप्रतिरोधात्मक क्षमता घट्ने गरेको छ । अर्कोतिर समाचारमा कोभिडबाट संक्रमितको बढिरहेको संख्या र हरेक दिन देशदेशमा भएका मृतकको संख्याको समाचारमात्र प्रशारण गरेका कारण मानिसहरूमा थप निराशा र त्रास फैलिरहेको छ ।

कोभिड १९ अहिले अन्तर्राष्ट्रिय स्तरमा नै रोगमाथिको राजनीति सावित हुँदै गएको छ । कोरोना भाइरसको संक्रमण भएका धेरै व्यक्तिहरु जाँच नगरिकनै निको भएर सामान्य भएका छन् ।
कोरोनाको समस्या गएको छैन । नयाँनयाँ ठाउँहरुमा रोगीहरु अप्रत्यासित बढेका छन् । मानिसहरुले सामान्य जीवनमा फर्कन आतुर गर्ने क्रममा जथाभावी स्पर्शका माध्यमबाट सम्पर्क गर्ने गरेकाले यो रोग फैलिइरहेको छ । सचेत हुनुपर्छ । आत्तिनु हुँदैन । पानीमा पसेर हातै नचलाएर बसे अवश्य मरिन्छ । जानीनजानी हात चलाउन सकेमा बाँच्ने सम्भावना बढी हुन्छ भनेजस्तै कोरोनाबाट त्रसित हुनुभन्दा सचेत हुने र सक्रिय जीवन बिताउने गर्नुपर्छ । आफैँले खाना बनाउने, ताजा खाना खाने, व्यायाम गर्ने गर्दा हामी कुनै पनि रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सक्छौँ । यही क्षमताले कोरोना भाइरसलाई पनि पराजित गर्न सक्छ ।

(* प्राविधिक कारणले केही तथ्यगत त्रुटि भएकोले सच्चाइएको छ । )

–भर्जिनिया, अमेरिका
अगस्ट ३१, २०२०



Comment from facebook



थप खबर पढ्नुहोस्
बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु

२०७७ जेठ २१ गते बुधबार

०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...

अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा...

सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो

२०२६ पुष १७ गते बिहिबार

१३ सेप्टेम्बर, २०२०काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा...

कोरोनाबाट नेपालमा ४१ औं मृत्यु कोरोनाबाट नेपालमा ४१ औं मृत्यु

२०२६ पुष १७ गते बिहिबार

२२ जुलाई, २०२०धरान, सुनसरी । नेपालमा कोरोनाबाट थप एकजनाको...

Top