Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष त नेपाली समाजमा एकैपटक दुईवटा बच्चा (जुम्ल्याहा बालिका) को जन्म भए उनीहरुको नाम गंगा जमुना राख्ने पुरानो चलन छ । अझै पनि हाम्रो टोल छिमेकमा जुम्ल्याहा दिदीबहिनीको जन्म भए उनीहरुको नाम गंगा जमुना राख्ने चलन छ । तपाईँ हाम्रै टोल तथा छमेक तथा परिवारमै किन नहोस्, गंगा जमुना नाममा दिदीबहिनीहरु भएकै हुनुपर्दछ ।
कतिले अहिले आएर पुरानो नाम राख्न छडिसकेका पनि छन् । तर यहाँ हामीले एकैपटक जन्मिएका दुई दिदीबहिनी गंगा र जमुनाको प्रशंग उल्लेख गर्न चाहेका होइनौं । प्रकृतिको सुन्दर उपहार पानीको लोभलाग्दो झरनाको नाम पनि गंगा जमुना हुँदो रहेछ भनेर धेरैले अनुमान समेत नगरेको हुनुपर्दछ । तपाईँको यही अनुमानलाई मिथ्या सावित गर्ने एउटा ‘गंगाजमुना नामको झरना परापूर्वकालदेखि नै अनवरतरुपमा झरिरहेको छ उत्तरी धादिङ्गको गंगाजमुना गाउँपालिका (साविकको फूलखर्क गाउँविकास समिति) ढाँडखर्कमा ।
पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण मानिएको यो झरना काठमाडौंबाट कम खर्चमा पुगिने एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । जुन ठाउँ प्रकृतिले पृथ्वीलाई प्रदान गरको केही त्यस्ता महत्वपूर्ण ठाउँमध्येको एउटा सुन्दर ठाउँको रुपमा आज पनि परिचित छ । पहाडको माथिबाट बग्ने दुईवटा झरना नै गंगा जमुना झरना हो ।
कसरी पुग्ने यहाँ ?
गंगा जमुना झर्ना पुग्न काठमाडौंबाट करिब १ दिनको गाडीको यात्रा पार गर्नुपर्ने हुन्छ । हिउँदको समयमा भने करिब ६/७ घण्टामै गंगाजमुना पुग्न सकिन्छ । अहिले गंगाजमुनाको फेदिसम्म कच्ची बाटो पुगेको छ । सार्वजनिक यातयातमा जानेहरुले भने काठमाडौंको माछापोखरीस्थित धादिङ्ग बसपार्कबाट सिधै गंजा जमुना (फूलखर्क) जाने गाडी चढ्न सक्छन् । जुन गाडी बिहान ८ बजेको हाराहारीमा छुट्ने गरेको छ ।.
काठमाडौंबाट नौविसे, मलेखु, धादिङ्गबेसी, ज्यामिरे, गोलाभञ्ज्याङ्ग, सल्यानटार, सल्यानकोट हुँदै फूलखर्क जाने गाडी अपरान्ह २ बजेको हाराहारीमा स्थानीय सुकाभञ्ज्याङ्गमा पुग्ने गर्दछ । त्यसपछि सोही आसपासमा स्थानीय वासिन्दाको घरमा बास बसेर भोलिपल्ट बिहान गंगाजमुना तर्फ पाइला अघि बढाउन सकिन्छ ।
धादिङ्गबेसीबाट सल्यानटारसम्मको करिब ३० किलोमिटर बाटो मध्ये टारीबेसीसम्मको बाटो पिच छ । त्यसपछिको करिब १५ किलोमिटर बाटो कच्ची छ । स्थानीय स्तरमा पाइने लोकल (अर्गानिक) खानेकुराको स्वाद चाख्दै अघिबढ्दा त्यहाँको तामाङ्ग तथा गुरुङ्ग समुदायका विभिन्न धर्म र संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ । गंगा जमुनाकै आसपासमा भने घरहरु खासै छैनन् । त्यहाँका तामाङ्ग तथा गुरुङ्गहरुको बस्तुभाउ चराउने खर्क जस्तै बनेको छ गंगाजमुना आपासका विशाल फाँटहरु ।
पहाडी भूभाग र डँड्यानहरुको बीचमा रहको खाली जमिन बाट मुन्टा नै भाँचिएला जस्तो गरी माथितिर फर्केर हेर्दा माथिको कहालीलाग्दो पहाडबाट झरेका गंगाजमुना झरनाको पानीको छिटा अनुहार तिर पर्छकी भने झैं भान हुन्छ । यस क्षेत्रमा पुग्दा यहाँबाट धादिङ्ग र गोर्खालगायतका जिल्लाका अधिकांश ठाउँहरु देख्न सकिन्छ । अनि पर कहाँ हो कहाँसम्मको डाँडाहरुबाट बनेको क्षीतिजले मन नै फुरुङ्ग बनाउँछ पनि पनि रहेछ ।
जति पहाडतिर उक्लिँदै गयो, उति जाडोको अनुभव पनि हुन्छ । विशाल पहाडको बीचमा रहेको ढुंगैढुंगाको पहराको माथिबाट दुईवटा झरना झर्दै गरेको देख्ने जो सुकैलाई पनि यो झरना र यहाँको वातावरणले मोहनी लगाईदिन्छ । त्यहाँ पुगेर उत्तरपट्टि फर्केर झरनालाई हेर्दा देव्रेपट्टीको झरनालाई गंगा र दाहिने पट्टिको झर्नालाई जमुना भनिन्छ ।
यसलाई जुम्ल्याहा झरना पनि भन्ने चलन छ । तर हिउँदको समय भन्दा वर्षात्का बेला यहाँको झरनाबाट निक्कै ठूलो पानी बग्ने गर्दछ । झरनाको शिरबाट बगेको पानी तल आइपुग्दा थोपा थोपामा परिणत हुने गर्दछ । तलको खर्कबाट गंगाजमुनाको झर्ना भरेर जमिनमा आइपुग्ने ठाउँसम्म पुग्न करिब १० मिनेट पहाड चढ्नुपर्ने हुन्छ । बढेमानका ढुंगाहरुको बीचको भिरालो तथा चिप्लोबाटो निक्कै होसियारीका साथ अघि बढेपछि पहाराको बीचमा पुगिन्छ र त्यहाँ पुगेपछि माथिबाट झरेको पानी ढुंगामा परेर त्यसको छिटाले आसपासमा लागेको लेउ स्पष्टै देख्न सकिन्छ । निक्कै चिप्लो हुने भएकाले यो ठाउँमा अत्यन्तै होसियारीका साथ जानुपर्ने हुन्छ ।
पछिल्लो बर्षहरुमा स्थानीय स्तरबाट यहाँ खुड्किला बनाईएकोले यात्रा केही सहज छ । यस्तै अन्य केही पूर्वाधारहरु समेत निर्माण भएका छन् । यहाँबाट चिप्लियो भने निकै तल पुगिन्छ । तर वर्षात्को बेला यहाँ जान केही कठिन हुन्छ । जुका लाग्ने तथा पानीका कारण पहिरो तथा भलले सडक भत्काउने हुनाले कहाँसम्म गाडी जान्छ भन्ने ठेगान नै हुँदैन ।
बर्खाको बेला करिब करिब कम्मर जत्तिकै ठूलो छाँगो खस्ने यो ठाउँमा हिउँदमा पुग्दा पहाड माथिबाट खसेको झरना तल आइपुग्दा सावरबाट आएको पानी जस्तो सिर्का हान्ने र थोपा थोपाको अवस्थामा आइपुग्छ । गंगाजमुना झनाको मुहान र झर्नाबाट झरेको पानी आइपुगेर जमिनमा ठोक्किने ठाउँसम्मको दुरीझण्डै २ सय मिटर अग्लो छ । यो नेपालकै दोश्रो लामो झरनाको रुपमा परिचित यो झनामा पुगेर सकेसम्म नुहाउने र नसक्नेले सिरपाउ मात्रै धुँदा पनि पुण्य मिल्छ भन्ने पौराणिक कथन छ ।
जंगाजमुना झर्ना झरेको पहाडमा रहेको पहराको बीचमा महादेवको मन्दिर पनि छ । माघे संक्रान्ति तथा मंसीरताका पर्ने हरिबोधनी एकादशीको अवसरमा त्यहाँ मेला पनि लाग्दछ । मन्दिरमा पुग्नका लागि पहराको त्यो साँगुरो बाटोमा लामबद्ध भएर पर्यटक उभिएको देख्दा एकपटक आङ् सिरिङ्ग हुन्छ । पछिल्लो समयमा बाक्लै संख्यामा विदेशी पर्यटकहरु पनि त्यो ठाउँमा पुग्ने गरेका छन् । जिउनै सिरिङ्ग हुने साँघुरो ढुंगाको सिँडीबाट बनाइएको उकालो बाटो चढेर मन्दिरमा पुगेपछि माथि फर्किएर हेर्दा ठूलो पहरा देख्दा एकमन त पहरो नै झर्छ कि भने जस्तो लाग्छ । तलतिर हेर्दा पनि मन नै सिरिङ्ग हुन्छ । ढुंगै ढुंगाको ढाँड परेको जमिन र स्थानीय लामा, तामाङ्ग र घले जातीको बस्तुभाउ चराउने ठाउँ अर्थात् खर्क भएकोले त्यो ठाउँलाई ढाँडखर्क भन्ने गरिएको हो । तर अचम्म के भने गंगाजमुना झरना भएको ठाउँको वरपर वरपर मानिसहरुको स्थायी बसोबास छैन ।
सोही कारणले गर्दा पनि मन्दिर कहिले स्थापना भयो भन्ने विषयमा आधिकारिक जानकारी छैन । मन्दिरमा स्थानीय तामाङ्ग (घले) जातिका मानिसहरु पुजारीको रुपमा पुजामा सहभागी हुने गर्दछन् । त्यहाँ लामा झाँक्रीहरुले ढ्यांग्रो बजाएर देवीको आराधना गर्ने गर्दछन् । हिन्दु र बौद्ध दुबै धर्ममान्नेहरुको समान आस्था गंगाजमुनाप्रति छ । यहाँ पुग्ने भक्तजनले जनावरको बलि होइन मन्दिरमा परेवा चढाउने गर्दछन् । यो मन्दिर र गंगाजमुना झरना रहेको ठाउँमा हरेक वर्ष असारमा तुलसीको विरुवा सार्ने एकादशी (हरिशयनी), मंसीरमा तुलसीको विवाह गर्ने एकादशी (हरिबोधिनि) र माघ १ गते विशेष मेला लाग्दछ । तरपनि मंसीरको मेला चाहिँ विशेष हुने गरेको छ । मन्दिरमा वर्षका विभिन्न समयमा लाग्ने मेला भर्न आउनेहरु मेला लाग्ने अघिल्लो रात नै यो ठाउँमा जाग्राम भएर बस्ने, बत्ति बाल्ने, भजन कीर्तन गाउने गर्दछन्् ।
स्थानीय कुकुर धाराको ऐतिहासिक महत्व
गंगा जमुना झर्नाबाट करिब १० मिनेट उत्तर पश्चिममा अर्को सानो झरना पनि छ जुन स्थानीय स्तरमा ‘कुकुर धारो’ को रुपमा परिचित छ । कुकुर, विरालो, बाँदर वा अन्य जीवजन्तुले सपनामा वा विपनामा टोकेका मानिसहरुले यो झरनामा आएर नुहाउने पुरानो चलन छ । यस्ता मानिसहरु यहाँ आएर नुहाउँदा जीवजन्तुले टोकेको कुनै दोष लाग्दैन भन्ने किंबदन्ती छ । यस्तै यहाँ पुगेर कुकुर धारोमा नुहाउनेहरुलाई पनि कुकुर तथा अन्य जीवजन्तुले जिवनभर टोक्दैन भन्ने विश्वास रहि आएको छ ।
यतिधेरै धार्मिक तथा पर्यटकीय महत्व बोकेको भएपनि यो ठाउँको अहिलेसम्म उचित प्रचार प्रसार तथा विकास भने हुन सकेको छैन । गंगा जमुना क्षेत्र भेटिन् बुट्यान तथा हिमाली क्षेत्रमा विभिन्न खाले महत्वपूर्ण बनस्पतिहरु भेटिन्छ । निरमसी, पाँचऔले, निम, सुनगाभा जस्ता धेरै महंगा र महत्वपूर्ण बनस्पतिहरुदेखि बहुमूल्य आयुर्वेदिक औषधी र विभिन्न खाले सुगन्ध आउने सौन्दर्यका सामान बनाउन प्रयोग हुने बनस्पति तथा विभिन्न खाले पत्थर एवं रुवीको खानी हो यो क्षेत्र । तर राज्यको चरम उपेक्षामा छ यो क्षेत्र ।
कति लाग्छ खर्च ?
गंगा जमुना पुग्न खासै धेरै खर्च लाग्दैन । काठमाडौंबाट करिब ७ सयको हाराहारी खर्च गरेर सार्वजनिक बसको टिकट लिएर सिधै फूलखर्क गाविसको दाङ्गसिङ्ग पुग्न सकिन्छ । सानो समूहमा जाँदा त्यहाँ बसेको तथा खाएको खासै खर्च हुँदैन । अहिलेसम्म गंगाजमुना क्षेत्रमा होटल तथा रेस्टुरेन्ट निर्माण नभै सकेकोले स्थानीयबासिन्दाको घरमा बस्ने र उनीहरुले पकाएको खानुको विकल्प छैन । दाङ्गसिङ् आसपासमा रात विताएर भोलिपल्ट बिहानै त्यहाँबाट गंगाजमुना पुगेर मध्यान्ह ११/१२ बजे पुःन दाङ्गसिङ्ग आउन सकिन्छ । स्थानीय वासिन्दाले कतिपयले निःशुल्क रुपमा अतिथिको रुपमा बास बस्न दिएका हुन्छन् भने कतिपयले सामान्य शुल्क लिने गरेका छन् । जे होस्, यो क्षेत्रमा पुग्दा आजसम्म यहाँका स्थानीयले अतिथीकै रुपमा स्वागत सत्कार गर्ने गरेका छन् । सामान्य तथा ५ हजार रुपैयाँ जति रकम बोकेर गए यो क्षेत्रमा २ /दिन बसेर फर्कन सकिन्छ ।
के के लैजाने ?
गंगाजमुना पुग्न खासै धेरै लुगाफाटोको बन्दोबस्द गर्नुपर्दैन । हिमाली क्षेत्र भएकोले केही बाक्लो ज्याकेट, टोपी तथा राम्रो खालको अफरोड जुत्ता लगाएर गए पुग्छ । साथमा भ्रमणमा निस्कने बेलामा लैजाने साबुन, सेम्फो, टुथब्रस, नेलकटर, केही अत्यावश्यक औषधी, पानीको बोटललगायत बोके पुग्छ । एउटा स्लिपिङ्ग व्याग बोके आफ्नै ओछ्यानमा सुत्न पाइन्छ ।
कोसेली के ल्याउने ?
गंगाजमुनाबाट फर्कँदा स्थानीय गुरुङ्ग तथा तामाङ्ग समुदायले उत्पादन गर्ने आलु, तोरीलगायतका सामान तथा दारका ठेकी, चोयाका सामग्री किनेर ल्याउन सकिन्छ । साथै कतिपय स्थानीयले घरगाउँमै संगलेको गाई तथा भैंसीको शुद्ध घिउ पनि कोशेलीको रुपमा ल्याउन सकिन्छ ।
२०२६ पुष १७ गते बिहिबार
Daniel Gros Europe is experiencing a “good” crisis. Despite...
२०२६ पुष १७ गते बिहिबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...
२०७६ बैशाख २९ गते आइतबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...
२०२६ पुष १७ गते बिहिबार
१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...
Top