एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै

Best Khabar Team | २०८० आश्विन २६ गते शुक्रबार


१२ अक्टोबर, २०२३
लिंकरोड, बेल्जियम

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कात्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडाैंमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ ।

गैरआवासीय नेपाली संघका नयाँ नेतृत्वको लागि दावेदारहरु । तस्वीर : वेस्टखबर डटकम

एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट असोज ३० गते बिहान हुने तय भएको छ । सोही दिन अपराह्नदेखि कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुने एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए । सोही अवधिमा महिला र युवा विषयक सत्र पनि सञ्चालन हुने तय भएको छ । कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ । मतदानपछि समापन कात्तिक ३ गते साँझ प्रधानमन्त्रीले गर्ने तय भएको छ ।

एनआरएनएले पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ । मतदान गर्न ‘फेसियल भेरिफिकेशन’ एप प्रयोग गरिने भएको छ । मतदान हुनु २४ घण्टाअघि सबै मतदातालाई यो एपको लिङ्क पठाइने छ । लिङ्क खोलिसकेपछि अनुहार देखाएर त्यस एपले अनुमति दिएपछि मात्र मतदान गर्न पाइने व्यवस्था गरिएको छ । महाधिवेशनको तयारीका लागि यसअघि ५९ राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन सम्पन्न भइसकेको थियो । उक्त निर्वाचनबाट महाधिवेशनका लागि जम्मा चार हजार दुई सय २७ अन्तर्राष्ट्रिय प्रतिनिधि निर्वाचित भइसकेका छन् ।

अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नैका लागि महाधिवेशनस्थल नेपालमा आउनु पर्दैन तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशनस्थल नेपाल अनिवार्य आउनुपर्ने छ । नेपाल आउने उम्मेदवार तथा अन्य मतदाताका लागि महाधिवेशनस्थलको निश्चित स्थानमा राखिएका कम्प्युटरमार्फत मतदान गर्ने व्यवस्था गरिएको उनले बताए । उम्मेदवार र अन्य मतदाता गरी एक हजार पाँच सय हाराहारीले महाधिवेशनस्थलबाट मतदान गर्ने अनुमान गरिएको छ ।

सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनमा हालसम्म उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष भइसकेका छन् । एनआरएनको दसौँ महाधिवेशनको निर्वाचनमा विवाद भएपछि तीनजना अध्यक्ष रहने गरी सहमति गरिएको थियो । हालको समितिमा तीन अध्यक्ष कुल आचार्य, रविना थापा र बद्री केसीले छ–छ महिना कार्यकारी अध्यक्ष हुने गरी सहमति गरेका थिए ।

अध्यक्षमा पाँच जनाको उम्मेदवारी घोषणा

एनआरएनएको यस महाविधेशनमा हालसम्म अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा एवं उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनए सचिवालयले महाधिवेशनको तयारीका लागि हालसम्म अन्तिम नामावली तयार गर्ने, कार्यक्रमस्थल र निर्वाचनतालिका सार्वजनिक गर्ने, निमन्त्रणा, मतदातालाई बास बस्नेलगायत तयारी गरिसकेको सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिए ।

महाधिवशेनका लागि अधिवक्ता यादव ढुङ्गानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । बिहीबारदेखि उम्मेदवार दर्ता गर्न समय तोकिएको र उम्मेदवारी अनलाइनबाट पनि दिन मिल्ने व्यवस्था गरिएको उनले बताए । एक उम्मेदवारले दुई प्रस्तावक र दुई समर्थकसहित उम्मेदवारी दिनुपर्छ । उम्मेदवारी दिने अवधि असोज २७ गतेसम्म तोकिएको छ । असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने निर्वाचन तालिका छ । महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछन् ।

सन् २००३ अगष्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीहरूको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोवरमा काठमाडाैंमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो । गैरआवासीय नेपाली सङ्घ, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ अनुसार विधिवतरूपमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । नेपालीका लागि नेपाली भन्ने मूलमन्त्र बोकेर आफ्नो स्थापनाको दुई दशक पूरा गरेको यस संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । सार्क राष्ट्रबाहेकका अन्य देशमा राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी अन्तर्राष्ट्रियस्तरमा नै स्थापित, सङ्गठित र परिचालित हुनसक्ने नेपाली मूलको गैरसरकारी अन्तर्राष्ट्रिय सञ्जालको रूपमा आफूलाई विकसित गर्नसक्नु यस संस्थाको उपलब्धि हो । (रासस)



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’ उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण...

काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...

Top