त्रिभुवन विमानस्थलको अस्तव्यस्तता

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


२२ अक्टोबर, २०१९
वेस्टखबर टिम ।
काठमाडौं । सरकार यतिबेला नेपाल भ्रमण वर्ष २०२० मनाउने संघारमा उभिएको छ । त्यसका लागि विदेशी पर्यटकहरुलाई नेपाल आउन विभन्नि खाले अभियानहरु चलाईएको छ । तर अन्र्तराष्ट्रिय विमानहरुको आवातजावत हुने नेपालको पहिलो तथा एउटै मात्रै अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अवस्था भने अझै पनि लथालिंग छ । यही विमानस्थल भएर वर्षेनी लाखौं विदेशी नागरिकहरु नेपाल आउँछन्, अनि हाम्रा लाखौं युवा शक्ति खाडी राष्ट्रमा काम गर्न पुग्छन् ।

तस्वीर : एनडिटीभी

घुमघामका लागि विदेश जाने हुन् वा अन्य काम विशेषले विदेश पुग्नेहरु नै किन नहुन् । जे जस्तो कामले विदेशिएका स्वदेशी नागरिकदेखि नेपाल हेर्न र घुम्नका लागि आएकाहरुसम्मले विमानस्थल ओर्लिएलगत्तै विभिन्न खाले सास्ती र हैरानी भोग्नुपर्ने हुन्छ । विमानबाट ओलिएपछि आगामन कक्षतर्फ लम्कँदा बाटोमा सुरक्षा जाँचमा देखिएको अव्यवस्थित लाईन होस् वा लगेज लिने ठाउँको अस्तव्यस्ता ।

विदेशी नागरिकहरु एक आफसमा कानेखुसी गरिरहेका भेटिन्छन् । चाहने भने त्यसलाई व्यवस्थित गर्न सरकार नियमक निकायलाई केही घण्टाको समय भए मात्रै पुग्दछ । त्यसपछि विदेशी तथा स्वदेशी पर्यटक पहिलो पटक विमानस्थलको आवागमन कक्षबाट बाहिर निस्कैदेखि नै शुरु हुन्छ उनीहरुको ‘मानव सृजित दशा’ । विमानस्थलबाट बाहिरिएर लगत्तै शुरुहुन्छ ट्राक्सी चालकहरुको लुछाचुँडी । विमानबाट ओर्लिएर लगेज लिएर यात्रुहरु के बाहिरिन पाएका हुन्छन् अनि उनीहरु पर्छन् ट्याक्सी चालकहरुको तातानानमा । त्यसो त त्यो क्षेत्रमा प्रहरी प्रशासनको उपस्थिति पनि बाक्लै हुने गरेको छ ।

तै पनि ती चालकहरुको हारलुछका बीचमा सुरक्षाकर्मी मुक दशर्क बनर बसिदिएको भान हुन्छ । सायदै विश्वमा कहिँ कतै देखिँदैन होला यस्ता घटना तर नेपालको एउटै मात्र अन्र्तराष्ट्रिय विमानस्थलमा देखिन्छ । नेपाल र नेपालीको आत्मिय अतिथि सत्कारबाट स्वागत पाउनुपर्ने विदेशी पर्यटकहरुले त पहिलो गासमै ढुंगा भने झै विमानस्थलमै ओलिएपछि तानातान र लुछाचुँडी सामना गर्नुपर्ने हुन्छ ।

विदेशीलाई देखाउनकै लागि भएपनि एउटा आत्मिय अतिथि सत्कारको व्यवस्था गरिनुपर्ने हो, तर विमानस्थलको आगागमन कक्ष बाहिर देखिने अनावश्यक झुण्डले विमानस्थलको वातावरणलाई लाई नै प्रदुशित गरिदिएको भान हुन्छ । विमानस्थलको आगागमन कक्षबाट विदेशी वा स्वदेशी बाहिरिने वित्तिकै उनीहरुको नाडी समात्दै आफ्नो ट्याक्सी वा निजी गाडीमा हाल्न अनेक खाले प्रपञ्च रचिरहेका हुन्छन् चालकहरु । त्यसो त विमानबाट ओर्लिएपछि टर्मिनल भित्र छिर्ने वित्तिकै प्रिपेट ट्याक्सी काउन्टर नभएको होइन ।

विमानस्थलको टर्मिनल भवनभित्रै २ वटा प्रिपेड ट्याक्सी काउन्टर राखिएको भएपनि विमानस्थलको बाटो हुँदै बाहिरिने पर्यटकले ट्याक्सी चालकको लुछाचुँडीको सामाना गर्दैपर्दछ । विदेशी पर्यटक हुन् वा स्वदेशी, कसलाई कसरी सम्बोधन गर्ने वा उनीहरुलाई कसरी स्वागत सत्कार गर्ने भन्ने भुलेर त्यहाँ खटिएका ट्याक्सी चालक हुन् वा हकर एकदमै ठाडो भाषामा आफ्नो ‘कथित व्यापार’ बढाउन लागि परेका हुन्छन् । अनि विदेशी पर्यटकहरु पनि नाक खुम्च्याएर ‘नो नो’ भन्दै अघि बढ्न बाध्य हुन्छन् । पर्यटकको साथमा रहेको लगेज तथा अन्य सामानहरु उनीहरुको इच्छा विपरित लिएर आफ्नो ट्याक्सी तथा गाडीमा लैजान खोज्नेहरुको भीड पनि बाक्लै देखियो ।

यो विषयमा विमानस्थल प्रशासनदेखि सुरक्षाको लागि खटिएका प्रहरीहरुसम्म निरिह जस्तै बनेका छन् । गन्तव्य नेपाल टिमले विगत केही समयदेखि निरन्तर रुपमा विमानस्थलको अनुगमन गर्दा यस्ता घटना देखियो । त्यसो त विमानस्थलको आगागमन कक्षबाट बाहिरिने वित्तिकै ५ वटा हरियो नम्बर प्लेट्को ट्याक्सी स्टाण्डबाइ अवस्थामा राख्ने गरी व्यवस्था समेत मिलाइएको छ ।

विमानस्थलको पार्किङ्ग क्षेत्रमा हरियो नम्बर प्लेटको ट्याक्सीको अर्को काउन्टर पनि छ, त्यसैको अगाडि हरियो नम्बर प्लेटकै १५ वटा ट्याक्सी स्याण्ड बाई अवस्थामा राखिएको छ । तर यसबीचमा भाडाको कालो नम्बर प्लेटको ट्याक्सीदेखि रातो प्राइभेट नम्बर प्लेटको कार भाडामा लगाउनेहरुको तातानानभित्र हराउने गरेका छन् पर्यटकहरु । जर्वजस्ती रुपमा ट्याक्सीमा बस्न बाध्य बनाउने, महंगो भाडा असुल्न उद्दत हुनेहरुको गतिविधिका कारण केही कथित व्यवसायी त मोटाएका होलान्, स्वदेशी पर्यटकले हैरानी र सास्ती वेहोर्नुपरेको छ भने विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा नेपाल र नेपालीको इज्यत र प्रतिष्ठालाई माटोमा मिलाउने काम समेत भै रहेको देखिन्छ ।

अझ साउदी, कतार, मलेसिया, कुवेतलगायतका खाडी राष्ट्रबाट आउने कामदारहरुले त यी ट्याक्सी चालकहरुबाट सास्ती नै अझै बढी व्यहोर्नुपरेको छ । खाडी राष्ट्र«बाट काम गरेर रातिको समयमा काठमाडौंको विमानस्थल ओर्लने कामदारहरुले विमानस्थल क्षेत्रमा उभिने दर्जनौ चालकको सामना गर्नुपर्ने हुन्छ । विमानबाट होलिएर विमानस्थलको धावनमार्ग हुँदै टर्मिनलबाट अघि बढेर जाँचपास सबै सकिएपछि लगेज लिएर बाहिर निस्कने वित्तिकै ‘मेरो ट्याक्सीमा जाऊँ, मेरो होटलमा जाउँ’ भन्नेहरुको भीडभित्र हराउँछन् यी कामदार ।

रातिको समयमा विमानस्थलको ट्याक्सी एरियामा पुग्ने जो कोहीले सहजै देख्न सक्छ यो दृष्य । यस्ता चालकहरुको बाक्लै भीड लाग्ने गरेको छ रातिको समयमा विमानस्थ्लमा । ‘स्तरीय होटलमा लोकल खसी तथा कुखुराको मासु अनि अर्गानिक खाना पाइने देखि भर्जिन केटी सम्म मिलाइदिन्छु’ भन्न समेत भ्याउँछन् उनीहरु । पहिलो पटक विदेश गएर आएकाहरु कतिपटक यस्ता ट्याक्सी चालकहरुको साथमा लागेर हिँड्दा सम्पत्ति सबै लुटाएर घरको न घाटको बनेका उदाहरणहरु पनि प्रशस्तै छ ।

विशेष गरी भाडामा चल्ने कालो नम्बर प्लेटका ट्याक्सीहरुको हकमा भने यस्ता घटना पटक पटक दोहोरिने गरेका छन् । जर्वजस्ती रुपमा ट्याक्सी चढाउन सफल भएपछि चालकहरुले होटलसम्म सेटिङ्ग मिलाएका हुन्छन् । कतिपय बाटैमा चालकहरुबाट लुलिन्छन् । होटलमा केटीको समेत व्यवस्था गरिदिने र भोलिपल्ट विल तिर्ने बेलामा महंगो शुल्क तिर्न बाध्यहुनेहरुको दुर्दशा विमानस्थलबाटै शुरु भएको हुन्छ ।

विमानस्थलको मुख्य मार्गमै पुगेर ‘भर्जिन गर्ल’ मिलाइनेहरुको आश्वासनबाट कतिपय स्वदेशी पर्यटक तथा विदेशी कामदारहरुले एकरातमा हजारौं रकम स्वाहा बनाएर घर गाउँ पुग्न ऋण सापटी समेत गर्ने गरेको विगतको घटनाहरुले देखाईदिएको छ विदेशी तथा स्वदेशी उच्चपदस्थ अधिकारीदेखि सामान्य नागरिकसम्मको पहुँच हुने विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हरेक चिज सिस्टममा चल्नुपर्ने हो । तर हाम्रो देशको विमानस्थलमा सिस्टम खोज्नु आकाशको फल आँखातरी मर भने जस्तै बनिदिएको छ । चाहने हो भने गर्न नसकिने केही छैन । एउटा निश्चित मापदण्ड बनाएर विमानस्थलभित्र चल्ने ट्याक्सी तथा अन्य गाडीहरु नियमसंगत रुपमा सञ्चालन गर्न कसले छेकेको छ सरकारलाई ?

जवसम्म विदेशबाट आउने पर्यटक तथा कामदारले आफ्नो इच्छाले ट्याक्सी लिन पाउने वातारण सिर्जना हुँदैन र विमानस्थलबाटै दुर्दशा भोग्नुपर्ने पर्यटकको नियति पटक पटक दोहोरिइरहन्छ, तबसम्म नेपाल र नेपाली तथा काठमाडौं विमानस्थलको प्रतिष्ठा गिरिरहन्छ, विदेशी तथा स्वदेशी पर्यटकमाझ । काठमाडौंबाट पोखरा, विराटनगरलगायतका विमानस्थलसम्मको अनुगमनका क्रममा यस्ता परिदृष्य देखियो । तर काठमाडौं विमानस्थलमा भन्दा तुलनात्मक रुपमा अन्य विमानस्थलमा यस्ता घटना कम भेटियो ।

विदेशी पर्यटक नेपाल आएनन् भनेर कोकोहोलो मच्चाईरहँदा विदेशी पर्यटकले नेपालमा पाइला टेकेपछि भोग्नुपर्ने यो खालेको ‘कोलाहालपूर्ण’ तथा उदेकलाग्दो नियतिको अन्त्य गर्न नयाँ सरकारका पर्यटन तथा यायतात व्यवस्था मन्त्रीको ध्यान जानु जरुरी छ । अन्यथा हेर्दा सामान्य लाग्ने यस्ता विषयले नेपालको अन्र्तराष्ट्रिय सम्बन्ध तथा विदेशीलाई विमानस्थलमा गरिनुपर्ने आत्मिय अतिथि स्वागत तथा सत्कारमा गम्भीर धक्का लाग्न सक्छ ।

यसका साथै देशको राजधानी काठमाडौंको छवि सिँगो देश र जनता सामु सँधै गिर्ने निश्चित छ । त्यसैले भ्रमण वर्षको पूर्वसन्ध्यामा सरकार र नियमक निकायले यसलाई व्यस्थित गर्नेतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै

२०२६ पुष १७ गते बिहिबार

१६ फेब्रुअरी, २०२० नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द...

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

२०७६ फाल्गुन २२ गते बिहिबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...

अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु

२०२६ पुष १७ गते बिहिबार

१५ अप्रिल, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता...

काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो

२०२६ पुष १७ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी...

Top