कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द, ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


३० मार्च, २०२०
काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफू र आफ्नो देशका नागरिकलाई जोगाउन यतिबेला सिँगो विश्व लागि परेको छ । विश्वका धनीदेखि गरिब देशसम्मले यतिबेला कोरोना संक्रमणको सामना गर्नुपरेको छ । यो बेला आम नागरिकलाई पल पलको सहि सूचना र सचेतना फैलाउन यतिबेला विश्वभरका सञ्चारमाध्यम लागि परेका छन् । तर नेपालमा भने कतिपय अनलाईनले कोरोना बारे अनावश्यक भ्रम फैलाउन उद्दत रहेका छन् । यसरी समाजमा अनावश्यक भ्रम फैलाउन १४ वटा अनलाईलाई यसको अनुगमन गर्ने प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ ।

जुन अनलाई अब नेपाली भूभागबाट हेर्न पाइने छैन । प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनालका अनुसार कोरोना बारेमा भामक, कपोलकल्पित र तथ्यहिन समाचार प्रकाशित गरी समाजमा नराकात्मक सन्देश प्रवाह गर्ने कार्यमा संलग्न ती अनलाईनहरुलाई आफ्नो सामग्री सच्चाउन पटक–पटक आग्रह गरिएको थियो ।

तर विगतदेखि नै यस्तै खाले सामग्री प्रकाशनमा जोड दिने यी अनलाईनले काउन्सिलको आग्रहलाई वेवास्ता गर्दै पछिल्लो समयमा कोरोना बारेसमेत नकारत्मक र भ्रामक समाचार सम्प्रेषण गरेकोले उनीहरुलाई कारबाही गर्दै बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकणलाई पत्राचार गरिएको हो ।

काउन्सिले जारी गरेको सूचना अनुसार यसरी बन्द गरिएका अनलाईनहरुमा बीबीसीई नेपाल डटकम, इन्यूज ट्वेन्टीफोर नेपाल डटकम, कास्कीखबर डटकम, नेपाली अनलाइनन्यूज डटकम, भिजिटस्टार्ट डटकम, नेपालडीप डटकम ललितपुरखबर डटकम, एचखबर डटकम, पवित्र टिभी डटकम, सिआइएनेपाल डटकम, मिडिया माइनेपाल डटकम रहेका छन् ।

यस्तै काउन्सिलले निगरानीखबर डटकम, हाम्रो अभियान डटकमलगायतका साइडलाईपनि कारबाही गर्दै बन्द गरिदिएको छ ।

  • १) कास्कीखबर डटकम (www.Kaskikhabar.com)। कास्कीखबर डटकमलाई काउन्सिलले ब्लक गरेको छ । यसले चैत ८ गते ‘धनुषाका जिल्लाका २ जना युवामा कोरोना भाइरस भेटियो, शेयर गरी नेपालीमाझ पुराइदिनुहोला’ शीर्षकको समाचार प्रकाशन/प्रसारण गरेको थियो ।
  • २) नेपाली अनलाइनन्यूज डटकम (ww.nepalionlinenews.com)। यो अनलाइनले चैत १० गते ‘वीरगञ्जमा एकजनामा देखियो कोरोना भाइरस’ शीर्षकको समाचार प्रकाशित गरेको छ ।
  • ३) भिजिटस्टार्ट डटकम (www.visitstart.com)। यो अनलाइनले चैत ८ गते ‘नेपालमा कोरोना भाइरस लुकाउने कोसिस, इटालीको भन्दा भयावह अवस्था आउनसक्ने, डब्लुएचओ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
  • ४) न्युज ट्वेन्टीसेभेनमिडिया डटकम ( www.news27media.com)। यो अनलाइनले ‘दुःखद् खबर ! वीरगञ्जमा सिरहामा एकजना विरामीमा कोरोना संक्रमणको लक्षण देखियो, गाउँ नै आतंकित, सबैलाई घरबाहिर ननिस्कन आग्रह’ शीर्षकको समाचार प्रकाशन गरेको छ ।
  • ५) मिडिया माइनेपाल डटकम (www.mediamynepal.com) । यो अनलाइनले चैत ९ गते ‘वीरगञ्जमा एकजना कोरोना संक्रमित फेला परे’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।
  • ६) निगरानीखबर डटकम ( www.nigaranikhabar.com)। यो अनलाइनले मार्च ४ मा ‘दार्चुलामा भेटियो कोरोना भाइरस’ शीर्षकमा समाचार छापेको छ ।
  • ७) हाम्रो अभियान डटकम ( www.hamroabhiyan.com)। मिति नै उल्लेख नगरेर यो अनलाइनले ‘पत्रकार सम्मेलनमा गएका पत्रकार कोरोना संक्रमित, छोरीमा समेत पोजिटिभ’ शीर्षकमा समाचार प्रकाशन गरेको छ ।
  • ८) नेपालडीप डटकम ( www.nepaldeep.com) । यो अनलाइनले चैत ९ र १० गते ‘कोरोनाको मौका छोपी प्रहरी पत्रकार नै लुटपाटमा लागेपछि’, र ‘राजाको सक्रियताले प्रचण्ड चिन्तित, भने, भारतले राजालाई बुई बोक्यो’, र ‘मौसूफ नारायणहिटी सर्ने तयारी गर्नुहोस् : योगी आदित्यनाथ’, शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
  • ९) बीबीसीई नेपाल डटकम ( www.bbcenepal.com)। यो अनलाइनले चैत १३ गते समाचार सम्प्रेषणका क्रममा ‘न्यूज २४ का दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमणको पुष्टि’, ‘प्रधानमन्त्री ओलीको नेपालमा चीनको प्रभाव रोक्न, यस्तो एक्सन, बेइजिङ आत्तियो !’, ‘खुशीको खबर जापानले कोरोना भाइरसको औषधि पत्ता लगायो, ३४० बिरामीमा प्रयोग गर्दा बिरामी निको भए, पढेर शेर गरौं !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
  • १०) इन्यूज ट्वेन्टीफोर नेपाल डटकम (www.enews24nepal.com)। यो अनलाइनले १९ मार्चमा ‘खुशीको खबर’ कोरोनाबारे नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले !’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।
  • ११) ललितपुरखबर डटकम (www.lalitpurkhabar.com)। यो अनलाइनले चैत ११ गते ‘चितवनमा मृत यादवलाई कोरोना भएको रिपोर्ट’ शीर्षकमा समाचार छापेको छ ।
  • १२) एचखबर डटकम ( www.hkhabar.com)। यो अनलाइनले मिति नै उल्लेख नगरेर ‘थपिने भयो लकडाउनको अवधि, १८ गते नखुल्ने, सरकारको यस्तो निर्देशन, अब कहिले खुल्छ’, ‘खुशीको खबर सक्दो सेयर गर्नुस्, एक नेपालीले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी’, ‘खुशीको खबर फ्रान्सबाट फर्केकी नेपाली युवती निको भएर डिस्चार्ज’ भन्ने समाचार प्रकाशित गरेको छ । यसमा शीर्षक एउटा, तस्बीर प्रधानमन्त्री केपी शर्मा ओलीको राखिएको छ । साथै यो अनलाइनले ‘विश्वकै सबैभन्दा सानो गौमाता, शेयर गरी पुण्य कमाउनुहोस्’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।
  • १३) पवित्र टिभी डटकम ( www.pabitratv.com)। यो अनलाइनले फेब्रुअरी १९, मार्च १७, २४ र २७ तारिखमा ‘पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले फोन राख मु…! मा… चो…!! भनेपछि’, ‘सिराहामा ९ जना कोरोनाका बिरामी भेटिए, गाउँलेहरु आतंकित’, ‘कोरोना भाइरसको संक्रमण भइरहेकोले नेपालले चीनको बदनाम ग-यो’, ‘मलेसियामा लकडाउनको समयमा झन कोरोनाको डरलाग्दो रुप, १५१८ संक्रमितका साथै १४ जनाको मृत्यु’ शीर्षकमा समाचार छापेको छ ।
  • १४) सिआइएनेपाल डटकम ( www.cianepal.com )। यो अनलाइनले चैत १३ गते ‘डब्लुएचओको चेतावनी: पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी’ शीर्षकको समाचार सामग्री प्रस्तुत गरेको छ ।

काउन्सिल ले ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई उनीहरुले प्रकाशन गरेका भ्रामक समाचारको विषयलाई लिएर स्पष्टीकरण सोधेको छ ।

काउन्सिलले कोराना संक्रमणका बेला सञ्चारमाध्यमले अपनाउनुपर्ने निर्देशिका समेत जारी गरेको छ .
प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका संचारमाध्यमको निम्ति मिति २०७६/१२/१० मा जारी निर्देशिका
प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी

प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ दफा ७ को खण्ड (ख) द्वारा प्रदत्त अधिकारबमोजिम नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६ जारी गरेको छ ।

कोरोनाको महामारीविरुद्ध समाचार सम्प्रेषण गर्दा पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने दायित्वः

(१) सत्य–तथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्नुपर्दछ । (२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना संक्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । (३) सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमणसम्बन्धी समाचार, जानकारी वा लेख/कमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुन: प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकतासमेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ ।

(२) व्यक्तिगत गोपनीयतामामा ध्यान दिनुपर्ने : पत्रकार तथा सञ्चारमाध्यमले आशंकित वा संक्रमितको आशंका गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनु पर्दछ । कोरोना भाइरसको शंका भएकाको परिचय गोप्य राख्नुपर्दछ । साथै सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्वन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिक गर्नु हुँदैन ।

(३) लाञ्छना वा आरोप लगाउन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । यसैगरी कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्थाजस्ता कुनैपनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।

(४) डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान दिन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनाधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लाहरुलाई स्थान दिनु हुँदैन । पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ ।

(५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने: (१) पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजिकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नुहुँदैन ।

(६) दृश्य र तस्बिर प्रकाशन वा प्रसारण गर्न नहुने : पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्नुहुँदैन ।

(७) गल्ती सच्याउन तत्परता : पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्वन्धी समाचार सामग्रीमा कुनैपनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाधयमबाट सार्वजनिक जानकारी गराउनु पर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्चाउन दिएको निर्देशनको तत्काल पालना गर्नु पर्दछ ।

(९) प्रेस काउन्सिलले अनुगमन तथा कारवाही गर्ने : पत्रकार तथा सञ्चारमाध्यमले यो निर्देशिकाको पालना गरे नगरेको प्रेस काउन्सिल नेपालले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित-२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्ने छ ।

विश्वव्यापी संकटका बेला सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै काउन्सिलले आफ्नो सुरक्षा गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सबै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आग्रह समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

२०२६ पुष १७ गते बिहिबार

२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...

हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ ! हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !

२०७८ भाद्र १६ गते बुधबार

०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...

सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित) सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

२०२६ पुष १७ गते बिहिबार

२५ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको...

तीव्र रुपमा फैलिँदै कोरोना  : १८० जनाले गुमाए ज्यान तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान

२०२६ पुष १७ गते बिहिबार

३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...

Top